Mon. Oct 28th, 2024

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी   

लण्डन, २०८१ भदौ २० गते बिहीबार । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग हुनसक्ने डरले बुधबार आफ्नो सरकारले इजरायलमा हतियार निर्यात आंशिक रूपमा निलम्बन गर्ने कानुनी निर्णय गरेको बताउनुभएको छ ।

सोमबारको ३५० हतियार निर्यात इजाजतपत्रमध्ये ३० लाई निलम्बन गर्ने घोषणाले इजरायलको आत्मरक्षाको अधिकारका लागि बेलायतको समर्थनमा आएको परिवर्तनलाई सङ्केत नगरेको स्टारमरले बताउनुभयो ।

उहाँले आफ्ना सहयोगीहरूले बेलायतको कदमलाई बुझ्ने विश्वास व्यक्त गर्नुभयो ।

“यो एक गाह्रो मुद्दा भएको मैले स्वीकार गरेको छु तर यो नीतिगत निर्णय नभएर कानुनी निर्णय हो”, स्टारमरले भन्नुभयो ।

गाजापट्टीमा हमास लडाकुहरू विरुद्ध इजरायलले गरेको युद्धको सम्बन्धमा विदेश मन्त्रालयले गरेको समीक्षापछि यो निर्णय गरिएको उहाँले बताउनुभयो ।

आंशिक प्रतिबन्धले गाजामा हालको द्वन्द्वमा प्रयोग गर्न सकिने लडाकू विमान, हेलिकप्टर र ड्रोनहरू समावेश गर्दछ तर उन्नत एफ-३५ स्टील्थ लडाकू जेटहरूको निर्यात निलम्बन गरेको छैन ।

बेलायतको यो निर्णयले इजरायललाई आक्रोशित बनाएको छ र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमलाई “लाजमर्दो” भएको बताउनुभएको छ ।

यो कदमले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई सङ्केत गरेको कुरा पनि स्टारमरले अस्वीकार गर्नुभएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सोमबार लण्डनले आफ्नो कदमको घोषणा हुनुअघी वासिङ्टनलाई सुचित गरेको बताउनुभएको थियो । “हामी अन्य राष्ट्रलाई उनीहरूले इजरायललाई कुन हदसम्म समर्थन गर्ने छन् भनेर निर्णय गर्न दिनेछौँ”, किर्बीले पत्रकारलाई भन्नुभयो । “सार्वभौमसत्ता भनेको यही हो।”

लण्डनमा स्टारमरले सांसदलाई भन्नुभयो “हामीले हाम्रा सहयोगीहरूसँग यस विषयमा कुरा गरेका छौं, उनीहरूसँग फरक कानुनी प्रणाली छ, यही कुरा उनीहरूले राखेका छन।”

स्टारमर सरकारले उहाँको पूर्ववर्ती ऋषि सुनाकको प्रशासनको तुलनामा मध्य पूर्व द्वन्द्वमा बढी सूक्ष्म दृष्टिकोण अपनाइरहेको छ । त्यसैगरी बारम्बार युद्धविराम र गाजामा सहायता वितरणलाई तीव्र बनाउन आह्वान गरेको छ, र हमाससँग अक्टोबर ७ को आक्रमणमा कब्जा गरेका सबै बन्धकको रिहाई माग गरेको छ । एएफपी

Facebook Comments