Fri. Nov 22nd, 2024

राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको छः मुख्यमन्त्री कार्की   

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की श्रीकृष्ण जन्माष्टमीका अवसरमा विराटनगर–१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरबाट मङ्गलबार निकालिएको ९३औँ संस्करणको भगवान् राधाकृष्णको रथयात्रा शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै । तस्बिरः मनोज दाहाल/रासस

मोरङ, २०८१ भदौ ११ गते मंगलबार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताउनुभएको छ । भगवान् राधाकृष्ण रथयात्राको आज अपराह्न शुभारम्भ गर्दै उहाँले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकामा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई एवं शुभकामना दिनुभयो । उहाँले सनातन धर्म, संस्कृतिको रक्षा गर्नुपर्छ भन्दै मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका धर्म, संस्कृति हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण र प्रस्फुटन गराउन सदैव कार्य गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्की कृष्णजन्मष्टमी र रथयात्रा पर्व एउटा जाति र सम्प्रदायको नभएर सम्पूर्ण नेपाली र विश्वका मानवजातिको संस्कृति र पहिचान बनेको विचार राख्नुभयो । उहाँले यो रथयात्रा विश्व शान्ति, मानवजातिको हित र प्राणी जगत्को रक्षाका लागि भएको चर्चा गर्दै विश्वमा देखापरेका जलवायु परिवर्तन समस्या समाधान, पृथ्वीको रक्षा र मानवजातिको पक्षमा रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार राधाकृष्ण रथ, मन्दिर र धर्मशालाको भौतिक पूर्वाधार निर्माणमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भगवान् राधाकृष्णको नयाँ रथ बनाउने आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । रथयात्रा आयोजक समितिका संयोजक कैलाश रेग्मीले ९३औँ संस्करण यो रथयात्रा एसियाको दोस्रो ठूलो भएको जानकारी दिनुभयो ।

यात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नुका साथै ड्रोन र सिसी क्यामेरा सुरक्षा व्यवस्था कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

प्यागोडा शैलीमा बनाइएको उक्त रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ भने रथको अग्रभाग जुआबाट ७५ फिट लम्बाइका दायाँ र बायाँपट्टि फैलिएका लठ्ठा (डोरी)लाई पुरुष र महिला भक्तजनले रथलाई तानी सञ्चालन गरिएको थियो ।

रथको अग्रभागमा विभिन्न धार्मिक, जातजाति, सम्प्रदायका संस्कृति झल्कने झाँकी एवं भजनमण्डली रहेको रथयात्रा समारोहका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो ।

उक्त रथयात्राको पूजाअर्जना गर्न, हेर्न तथा सहभागी हुन मोरङ, सुनसरी, झापा, सप्तरी र सीमावर्ती भारतीय जिल्लाका समेत गरी करिब सात लाख भक्तजनको सहभागिता रहेको अनुमान आयोजक समितिले जनाएको छ ।

वि.सं. १९८८ देखि खटयात्रा र २०२७ सालबाट रथयात्रा सुरु गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । विराटनगरमा निकालिएको यो यात्रा भारतको उडिसा पुरीमा निकालिने भगवान् जगन्नाथपछि दोस्रो ठूलो रहेको आयोजकले जनाएका छन् । रासस

Facebook Comments