Sat. Oct 26th, 2024

युवा सकारात्मक भएर अगाडि बढ्नुपर्नेमा जोड   

दमौली (तनहुँ), २०८१ भदौ ९ गते आइतबार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देश बनाउने जिम्मेवारी युवाको भएको भन्दै युवाहरू सकारात्मक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

जेसीआई व्यास नगरको आयोजनामा हिजो दमौलीमा आयोजित व्यास नगर साइनिङ स्टारको फाइनल कार्यक्रममा उहाँले देश बनाउने जिम्मेवारी युवाको भएकाले देशमा केही भएन भन्नुभन्दा पनि सकारात्मक सोचसहित मेहनत गर्नुपर्ने बताउनुभयो ।

देशमा केही भएन र केही हुँदैन भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “देशमा केही हुँदैन भनेर विदेश मात्र ताक्ने हो भने मुलुकको भविष्य नकारात्मकतातर्फ जान्छ । सकारात्मक सोचका साथ देश बनाउन युवा अगाडि आउनुपर्छ ।” युवा देश विकासको संवाहक भएको चर्चा गर्दै उहाँले युवाले चाहेमा पूर्वाधार निर्माण, विकाससँगै समृद्ध मुलुक सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ देशमा प्रशस्त सम्भावना र अवसर छन् । त्यसको सदुपयोग गर्नुपर्छ ।”

युवाहरूलाई जागरण गर्न र सक्रिय बनाउन जेसीआई स्थापित भएको भन्दै मुख्यमन्त्री पाण्डेले यसले सोहीअनुसार काम गरिरहेको बताउनुभयो । “युवाहरूमा नैराश्यता नकारात्मक सोचका कारण बढेर गएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय नेपालमा केही पनि गर्न सकिँदैन भन्ने युवाको भावना छ । त्यो सोचलाई सकारात्मकतर्फ लैजानुपर्छ । युवामा उत्साह र प्रेरणा दिने सन्दर्भमा जेसीआईको महत्त्वपूर्ण भूमिका छ ।”

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले युवामा व्यक्तित्व र नेतृत्व विकासमा जेसीआईले सहयोग गरिरहेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालबालिकामा रहेका प्रतिभा प्रस्फुटनका लागि साइनिङ स्टारले सघाउँदै आएको बताउनुभयो । जेसीआईका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले समाजमा सकारात्मक सन्देश दिँदै युवालाई उत्प्रेरणा दिने काममा जेसीआई सफल भएको बताउनुभयो ।

साइनिङ स्टारको फाइनलमा २० जना बालबालिका प्रतिस्पर्धी छन् । एक महिनासम्म विविध प्रशिक्षणपश्चात् फाइनलमा सहभागी बालबालिकामध्येबाट विजयी घोषणा गरिने जेसीआई व्यास नगरका अध्यक्ष नवीन पुरीले जानकारी दिनुभयो ।  रासस

Facebook Comments