Wed. Oct 16th, 2024

तीन सय वर्ष पुरानो ‘ग्वलः दे फल्चा’ र ‘नरसिंह’ पाटी पुनःनिर्माण   

काठमाण्डू, २०८१ भदौ ४ गते मंगलबार ।  काठमाण्डू महानगरपालिका-८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ ।

आज आयोजित एक समारोहका बीच काठमाण्डू महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा-८ का वडाध्यक्ष आशामान सङ्गतले पुनःनिर्मित फल्चाको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले काठमाण्डू महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको पुनःनिर्माणको काम अगाडि बढाइरहँदा आज नसिंह पाटी एवं ग्वलः दे फल्चा’ समुद्घाटन गरिएको बताउनुभयो । “काठमाण्डू महानगरपालिका-८ मा रहेको तीन सय २४ वर्ष पुरानो फल्चा एवं भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको हो”, संयोजक सङ्गतले भन्नुभयो,“वडा ८ मा रहेको तीन सय २४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संवत् ८७३ मा भएको शिलापत्रमा उल्लेख छ । यस्तै ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको फल्चासमेत पुनः निर्माण गरिएको हो ।” उहाँले ध्वाखा छें (नरसिंह) पाटी ३४ लाख र ‘ग्वलः दे फल्चा’ १५ लाखको लागतमा पुनःनिर्माण गरिएको बताउनुभयो ।

हाल वडा नं. ८ मा ग्वलः दे फल्चा पुुनःनिर्माण भइरहेको र रावण पाटी पनि पुनःनिर्माणका लागि भग्नावशेष भत्काउने काम अगाडि बढेकाले चाँडै पुनःनिर्माण गरिने महानगरले जनाएको छ ।

Facebook Comments