Tue. Oct 29th, 2024

बंगलादेशमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई सजाय दिन शेख हसिनाको माग

काठमाण्डू, २०८१ साउन ३० गते बुधबार । बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर छिमेकी देश भारतमा शरण लिएर बसिरहेकी शेख हसिनाले बंगलादेशमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई सजाय दिन माग गर्नुभएको छ ।

देश छाडेर भागेपछि समग्र घटनाक्रमबारे पहिलो पटक प्रतिक्रिया जनाउँदै हसिनाले उक्त माग गर्नुभएको हो । उहाँको प्रतिक्रियालाई छोरा साजीव वाजिदले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्नुभएको छ ।

शेख हसिनाले आफ्ना पिता एवं बंगलादेशका संस्थापक शेख मुजीबुर राहमानको प्रतिमा तोडफोडमा संलग्नमाथि पनि कारबाहीको माग गर्नुभएको छ । शेख हसिनाले १५ अगस्ट १९७५ मा आफ्ना पिता मुजीबुर रहमानसहित परिवारका अन्य सदस्यको हत्या गरिएको स्मरण पनि गराउनुभएको छ । उहाँले १५ अगस्टका दिन राष्ट्रिय शोक दिवस मनाउन पनि माग गर्नुभएको छ ।

शेख हसिनाले १५ अगस्ट १९७५ मा मारिएका कयौँ स्वतन्त्रता सेनानी, सैन्यकर्मी र उनीहरूका परिवारप्रति श्रद्धाञ्जलि अर्पणसमेत गर्नुभएको छ । उहाँले पछिल्लो घटनाक्रमबारे भन्नुभएको छ- ”गत जुलाइदेखि लिएर अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसाका घटनामा हाम्रो देशका कयौँ निर्दोष नागरिकको मृत्यु भएको छ । विद्यार्थी, शिक्षक, गर्भवती महिला, पुलिस अधिकारी, पत्रकार, कार्यकर्ता, नेता, अवामी लिगका कार्यकर्ताहरू आतंकवादी हमलाको शिकार भएका छन् । म उनीहरूप्रति दुःख व्यक्त गर्दछु र उनीहरूको आत्माको शान्तिको कामना गर्दछु ।”

आफूलेजस्तै आफ्ना प्यारा मान्छे गुमाउँदाको दुःख झेलेर बाँचिरहेकाप्रति उहाँले गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले लेख्नुभएको छ- ”म ती जघन्य हत्या र तोडफोडको घटनामा जिम्मेवार मानिसको पहिचान गर्न र उनीहरूमाथि कानुनी कारबाहीका लागि जाँच गर्न माग गर्दछु ।”

उहाँले आफ्नो एक मात्र उद्देश्य बंगलादेशका पीडित नागरिकको मुहारमा मुस्कान ल्याउनु नै रहेको उल्लेख गर्दै यसमा सकारात्मक नतिजा पनि आइरहेको थियो भन्नुभएको छ । बंगलादेश अहिले विश्वको विकासशील मुलुकका बीचमा सम्मानजनक स्थितिमा रहेको दाबी उहाँले गर्नुभको छ ।

”धेरै दुःखका साथ भन्नुपर्छ कि आज सबैकुरा खरानीमा परिणत भएको छ । ती याद हाम्रो जीवनरेखा थिए, तिनलाई जलाएर खरानी बनाइएको छ । यो राष्ट्रपिताप्रतिको घोर अपमान हो, जसको नेतृत्वमा हामीले आफ्नो स्वाभिमान, आफ्नो पहिचान र आफ्नो स्वतन्त्र मुलुक प्राप्त गरेका थियौँ,” उहाँले भन्नुभएको छ- ‘यो लाखौँ शहीदको रगतको अपमान हो ।”

Facebook Comments