Sun. Apr 28th, 2024

एउटामात्र मुलुकले कोभिड-१९ को लडाइँ जिते पनि सम्पूर्ण मानव जातिलाई बचाउन सक्दैन

चिनियाँ मिडिया ग्रुपका पत्रकार चाङ युए(वर्षा)

काठमाडौं, २०७७ जेठ २६ गते सोमबार

विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीबाट छिमेकी देश चीन र नेपाल पनि प्रभावित छ । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुपै प्रान्तको उहान सहरबाट फैलिएको ठानिएको यो भाइरसबाट सङ्क्रमितको सङ्ख्या नेपालमा पनि दिनानुदिन बढिरहेको छ । यस्तो परिस्थितिमा नेपाली जनताको दुःख सुखको मित्र देश चीनले महामारी रोकथाम र नियन्त्रणको लागि लगातार नेपाललाई सहयोग गर्दै आएको छ । चीनले महामारी नियन्त्रणको क्रममा हासिल गरेको अनुभव यतिबेला नेपालको लागि पनि उपयोगी बन्दैछ ।

यही सेरोफेरोमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोसँग सम्बद्ध रहेर लामो समयदेखि नेपालमा पत्रकारिता गर्दै आउनुभएका चिनियाँ मिडिया ग्रुप नेपालका प्रमुख चाङ युए(वर्षा)सँग लिएको अन्तर्वार्ता प्रस्तुत छः

जनवादी गणतन्त्र चीनले कोभिड-१९ महामारीको सफलतापूर्वक नियन्त्रण गरेको छ । तथापि संसार अझै पनि यो प्राणघातक महामारीबाट मुक्त भने भइसकेको छैन । अहिले  चीनको अवस्था कस्तो छ ?

चीनले झन्डै तीन महिनाको प्रयास गरेर कोभिड-१९ को लडाइँमा चरणबद्ध सफलता प्राप्त गरेको थियो । सबैभन्दा पहिले कोरोना भाइरससँग लडिरहेका चीनको उहान सहरका सबै बासिन्दाहरूलाई हाल पीसीआरबाट परीक्षण गरियो । यसमा एक जना पनि सङ्क्रमित भएको देखिएको छैन । उहानलगायत चीनका विभिन्न ठाउँका मानिसहरूको जीवन सामान्य हुँदै आएको छ । कलकारखाना, पसल र स्कूलहरू क्रमशः खोलेका छन् ।

जनवादी गणतन्त्र चीनले छोटो अवधिमै कोभिड-१९ महामारीको सफलतापूर्वक नियन्त्रण गर्नसकेकोमा सम्पूर्ण विश्व चकित परेको छ । चीनले महामारी नियन्त्रणमा यो सफलता कसरी हासिल गर्यो ?

चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारका नेताहरूले आफैँ उहानमा पुगेर कोभिड-१९ सित लड्न निर्देशन गर्नुभएको छ । चीनले जनताको ज्यानलाई सबैभन्दा महत्वपूर्ण स्थानमा राखेको छ । चिनियाँ जनताले पनि आफ्नो सरकारको समर्थन गरी एकत्रित भएर काम गरे । यसले चीनमा चाँडै राम्रो नतिजा देखाएको छ ।

नेपालमा पनि दिनानुदिन कोभिड-१९ भाइरसका सङ्क्रमितको सङ्ख्या फैलिरहेको छ । यस्तो परिस्थितिमा छिमेकी मित्र देश चीन र चिनियाँ जनताबाट नेपाल र नेपाली जनतालाई के कस्तो मद्दत भइरहेको छ ?

चीनले आफ्नो छिमेकी देश नेपालको समृद्धि र नेपालीहरूको सु-स्वास्थ्य तथा सुरक्षामा ठुलो महत्व दिएको छ । चीनका राष्ट्राध्यक्ष र नेपालका राष्ट्रपतिबीच टेलिफोनमा कुराकानी भएको थियो । चीनका विभिन्न तहका सरकार, सेना, मैत्रीपूर्ण सङ्गठन र सामान्य चिनियाँहरूले नेपाल सरकार र नेपालीहरूलाई चिकित्सा सामग्री प्रदान गरेका छन् । दुवै पक्षबीच धेरै चोटि अनलाइन बैठकमार्फत अनुभव आदान-प्रदान भएको छ ।

चीनले नेपाललगायत संसारका अधिकांश कोभिड-१९ पीडित देशलाई आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गरेको देखियो । आफैँ कोरोनाको महामारीबाट समस्यामा परेको बेला चीनले किन अन्तर्राष्ट्रिय सहायता दिन हात बढायो ?

चीनले संसारभर एउटै भाग्यको समुदाय रहने धारणा प्रस्तुत गरेको छ । अहिलेको युगमा कुनै एउटामात्र मुलुकले कोभिड-१९ को लडाइँमा जिते पनि सम्पूर्ण मानव जातिलाई बचाउन सक्दैन । सबै मुलुक, सबै जाति, सबै लिङ्गका मानिसहरू एकजुट भएमात्र यसमा पूर्ण सफलता प्राप्त गर्नसक्छ । चीन अहिले विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो । चीनले अन्तर्राष्ट्रिय समाजमा आफ्नो कर्तव्य पालना गर्ने प्रयास गरिरहेको छ ।

चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा हासिल गरेको सफलताको अनुभवलाई आधार मानेर नेपाली जनतालाई अहिलेको अवस्थामा के कस्ता सुझाव दिनुहुन्छ ?

मैले काठमाडौँमा बसेर नेपाल सरकारको स्टे होमलगायतका कदमहरू पालना गरिरहेकी छु । खोप नपाइञ्जेलसम्म स्टे होम अर्थात् बन्दाबन्दी एउटामात्रै राम्रो उपाय होला । नेपाल सरकारले स्वास्थ्य परीक्षण गरिरहेको छ । उपचारमा ३०० भन्दा बढी सङ्क्रमित रोगीहरू निको भएका छन् । तर, हाल सङ्क्रमित सङ्ख्या बढ्दै गएको देखिन्छ । यस्तो अवस्थामा झन् बढी परीक्षण गर्नुपर्छ । अस्थायी अस्पतालको स्थापना गर्ने आवश्यकता पनि छ ।

कोरोना भाइरसको महामारीपछि विश्व व्यवस्थामा के-कस्ता परिवर्तन आउन सक्ने तपाईको विश्लेषण छ ?

कोभिड-१९ ले सारा विश्वको आर्थिक विकासमा असर पुर्याएको छ । यो महामारीपछि विभिन्न देशहरूले आन्तरिक खाँचो बढाउनुपर्ला । अन्तर्राष्ट्रिय व्यापार बढ्ने गति पहिलेभन्दा ढिलो हुनेछ । धेरै नेपालीहरू विदेशमा रोजगार गर्ने पनि कम हुने देखिन्छ । नेपालीले देशभित्रको पर्यटन र कृषि आदि क्षेत्रमा अझ बढी महत्व दिनेछन् ।

अन्त्यमा थप भन्नुपर्ने केही कुरा छन् कि ?
म नेपालमै नेपालीसँग यस महामारीलाई जित्न अडिरहेकी छु । हामीले सफलता प्राप्त गर्नको लागि प्रयास गरौँ । आफू बचौँ र अरूलाई पनि बचाऔँ ।

अन्तरवार्ता साभार: मजदुर दैनिक अनलाईन, भक्तपुर ।

Facebook Comments