Sun. Oct 27th, 2024

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १६ जना यात्रुको मृत्यु भएको आशङ्का   

 कानो (नाइजेरिया), २०८१ साउन २८ गते सोमबार । उत्तरी नाइजेरियामा क्षमताभन्दा अधिक भारको डुङ्गा पल्टिँदा १६ जना यात्रुको मृत्यु भएको आशङ्का गरिएको उद्धार अधिकारीहरूले सोमबार बताएका छन् ।

काठको उक्त डुङ्गाले आइतबार बिहान किसानहरूलाई सोकोटो राज्यमा नदीपारि उनीहरूको धान खेतमा लैजाँदै थियो ।

एउटा शव फेला परेको छ । डुन्डे गाउँबाट करिब ०९ः०० बजे (ग्रिनविच मिनटाइम) मा डुङ्गामा सवार भएपछि बेपत्ता भएका १६ जनामा महिला र बालबालिका पनि रहेको बताइएको छ ।

राष्ट्रिय आपत्कालीन एजेन्सी एनइएमएले डुङ्गामा सवार ३६ जनामध्ये १९ जना बाँचेको बताएको छ । “नदीबाट एउटा शव निकालिएको छ, पुरुष, महिला र बालबालिकासहित १६ जना अझै बेपत्ता छन्”, सामाजिक सञ्जालमा उल्लेख छ ।

एनइएमएका क्षेत्रीय प्रमुख अलियु सेहु काफिन्डाङ्गियाले भन्नुभयो, “डुङ्गा दुर्घटना भएको करिब एक दिन भएको छ र उद्धार हुन बाँकी सबैको मृत्यु भएको विश्वास गरिन्छ, अब ध्यान नदीबाट शव निकाल्न केन्द्रीत गरिएको छ ।” एनइएमएले करिब ३० जना गोताखोर र मछुवाहरू खोजी अभियानमा संलग्न रहेको बताएको छ ।

सोकोटो राज्यका गभर्नरका प्रकोप तथा आपत्कालीन सल्लाहकार नासिरु गरबा कलाम्बेनाले दुर्घटनाका लागि अधिक क्षमतालाई दोष दिनुभएको छ । उहाँका अनुसार डुङ्गाले १५ यात्रुलाई बोक्नुपर्ने थियो र यसको क्षमताभन्दा अधिक हुँदा यो नदीको बीचमा पल्टियो ।

भीडभाड र मर्मतसम्भारको अभावका कारण विशेषगरी वार्षिक वर्षाको मौसममा नदी र तालहरूमा बाढी उर्लेर आउँदा नाइजेरियाको अव्यवस्थित जलमार्गमा डुङ्गा दुर्घटना सामान्य हुन्छन् ।

प्रहरीका अनुसार बिहीबार आफ्नो खेतमा जाँदा उत्तरी जिगावा राज्यको गमोडा नदीमा डुङ्गा पल्टिँदा १५ किसानको डुबेर मृत्यु भएको थियो ।  एएफपी

Facebook Comments