‘राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा सरकार गठन हुन्छ’
मोरङ, २०८१ साउन १४ गते सोमबार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा सरकार गठन हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले प्रदेशसभामा पार्टीको सङ्ख्याका आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र नेपाली कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने र कांग्रेसले नाम दिएको आधारमा दुई/चार दिनभित्र मन्त्रिमण्डल विस्तार गरिने बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले प्रदेशको बजेट पारित भई कार्यान्वयनमा गइसकेकाले यसमा पुनरालोकन नहुने स्पष्ट पार्नुहुँदै आवधिक समयमा बिग्रेका बजेटलाई कानुनबमोजिम सच्याउन सकिने धारणा राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्कीका सम्बन्धमा धारणा राख्नुहुँदै प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति संवेदनशील छ भन्नुभयो । रासस