विदेशमा समस्यामा परेका नेपालीलाई उद्धार गर्ने उच्चस्तरीय समितिको निर्णय, व्यवस्थापन हेर्न सात मन्त्रीलाई जिम्मा
काठमाडौं, २०७७ जेठ १६ गते शुक्रबार
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । अर्को साताबाट उनीहरूलाई स्वदेश फर्काउने निर्णय भएको एक सदस्यले नयाँ पत्रिकालाई जानकारी दिए । करिब ६ लाख नेपाली स्वदेश फर्कने अनुमान उच्चस्तरीय समितिको छ ।
विदेशबाट ल्याइएका नागरिकलाई प्रदेशगत रूपमा छुट्याएर क्वारेन्टाइनमा राखी घर पठाउन सातै प्रदेशमा एक-एकजना संघीय सरकारका मन्त्रीलाई जिम्मा दिइएको छ । ती मन्त्रीले नै आफ्नो जिम्मेवारीभित्रका जिल्ला र स्थानीय तहसँग समन्वय गर्नेछन् ।
संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतीमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा ऊर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।
बैठकले स्वदेश फर्कन चाहने नेपालीको सूची तयार पार्न परराष्ट्र मन्त्रालयलाई भनेको छ । यस सम्बन्धमा मुख्यसचिव नेतृत्वको कार्यदलले अन्तिम प्रस्ताव तयार पार्ने निर्णय भएको ती सदस्यले बताए ।
एक साताअघिको मन्त्रिपरिषद्को बैठकले विदेशमा अप्ठ्यारोमा रहेका नेपालीलाई स्वदेश फर्काउने नीतिगत निर्णय गरेको थियो ।
प्रदेश र स्थानीय तहले पनि स्वदेश फर्कन चाहनेको सूची तयार गरिरहेका छन् । नयाँ पत्रिका दैनिक अनलाईनबाट