Sat. Oct 19th, 2024

गोली प्रहारबाट घाइते हुनुभएका ट्रम्पको अवस्था सामान्य

काठमाण्डू, २०८१ असार ३० गते आईतबार । चुनावी र्‍यालीका क्रममा गोली प्रहारबाट घाइते हुनुभएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था सामान्य रहेको छ । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यहरूले उहाँको अवस्था सामान्य रहेको जनाएको छ । गोली प्रहारबाट घाइते हुनुभएको ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पतालमा लगेका थिए ।

आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ मा एउटा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’ र स्थानीय स्वास्थ्य संस्थाले उपचार गरिरहेको उल्लेख गर्नुभएको छ । ट्रम्पले लेख्नु भएको छ, ‘‘सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो । धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।’’

उहाँलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच ट्रपको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो । उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’ का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको जानकारी उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले दिनु भएको छ । गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ र अन्य दुई जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ ।

Facebook Comments