Fri. Sep 20th, 2024

लकडाउनको दुई महिना : कोरोना संक्रमणको रफ्तार तीव्र

- संक्रमितमध्ये ९० प्रतिशत भारतबाट आएका, सीमाबाट आवागमन सुरक्षित गर्न सरकार असफल

काठमाडौं, २०७७ जेठ ११ गते आईतबार

भारतसँग नेपालको खुला सिमाना थिएन भने सायद यतिवेला नेपालका कोरोना संक्रमितको संख्या लगभग शून्य पनि हुन सक्थ्यो । किनकि हवाई मार्गबाट आएका संक्रमित एक व्यक्तिबाहेक सबै निको भइसकेका छन् । सीमा बन्द तथा लकडाउनपछि भारतबाट आएका व्यक्तिहरूबाटै नेपालमा तीव्र गतिमा कोरोना फैलिइरहेको छ । शनिबारसम्म कोरोना संक्रमितको संख्या पाँच सय ९१ पुगेको छ ।

आइतबार कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन घोषणा भएको दुई महिना पुगेको छ । दुई महिनाको अवधि पुग्दा संक्रमितको ग्राफ बढिरहेको छ । १ जेठयता मात्र तीन सय ४१ जनामा संक्रमण देखिएको छ । त्यसअघि संक्रमितको संख्या दुई सय ४३ मात्र थियो । नयाँ संक्रमण बढ्नुको कराण आन्तरिक संक्रमणभन्दा भारतबाट आएकाहरू हुन् । लकडाउन प्रभावकारी भए पनि सीमा व्यवस्थापन असफल हुँदा नेपालमा पनि कोरोना महामारी हुने जोखिम देखिएको छ ।

भारतबाट २० हजार भित्रिए 

चैतको सुरुवातदेखि छिमेकी देश भारतमा संक्रमित बढेसँगै सीमानाका र अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब परेको थियो । तर, सरकार केही दिन पर्ख र हेरको रणनीतिमा बस्यो । ९ चैतमा बल्ल सीमा र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरियो । त्यसको दुई दिनपछि लकडाउन कार्यान्वयन गरियो । समयमै लकडाउन गर्दा देशभित्र संक्रमण फैलन त पाएन, तर खुला सिमानाको व्यवस्थापनमा असफल हुँदा अहिले कोरोनाको संक्रमण तीव्र गतिमा फैलँदै गएको छ । नेपालमा अहिले संक्रमितमध्ये ९० प्रतिशत भारतबाट सडकमार्ग हुँदै आएका छन् । कतिपय लकडाउनअघि नै आएका थिए भने धेरैजसो संक्रमित लकडाउनपछि भित्रिएका छन् ।

सीमा बन्द भएयता भारतबाट करिब २० हजार भित्रिएको गृह मन्त्रालयको आन्तरिक रिपोर्ट छ । धेरैलाई लामो समय दशगजा क्षेत्रमा क्वारेन्टाइनमा राखेर भित्र्याइएको छ । उनीहरूको परीक्षणसमेत नगरी घर जान दिइएको छ । लुकिछिपी आएका ४० भन्दा धेरैमा संक्रमण देखिएको छ । जसले ठूलो जोखिम देखाउँछ । लुकिछिपी आउने क्रममा पक्राउ परेकाहरूलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको छ । यसरी लुकिछिपी छिरेको ठूलो संख्या राज्यसंयन्त्रको सम्पर्कमा छैन । उनीहरूबाट संक्रमण फैलने जोखिम छ । भारतबाट आएकाहरूलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे मात्र नेपालमा कोरोना नियन्त्रण हुनसक्ने जनस्वास्थ्यविज्ञहरू बताउँछन् । तर, दुई महिनाको अवधिमा पनि क्वारेन्टाइन बनाउनेलगायत तयारी पूरा गर्न नसक्दा भारतबाट पछिल्लो हप्ता छिरेकाहरूबाट खासगरी प्रदेश सुदूरपश्चिम र कर्णाली प्रदेशमा जोखिम देखिएको छ ।

गृहको असफल सीमा सुरक्षा योजना

गृह मन्त्रालयले भारतसँगको सीमा सुरक्षालाई चुस्त बनाउन समयमा रणनीति बनाएर कार्यान्वयन गर्न नसक्दा यसरी संक्रमण बढेको हो । चैतको सुरुदेखि नै सीमा बन्द गर्नुपर्ने अवस्था देखिएको थियो । तर, गृहले त्यसका लागि कुनै रणनीति बनाएन । ९ चैतदेखि सीमा बन्द भयो, तर १८ सय ८० किलोमिटर सीमामा जम्मा करिब चार हजार सशस्त्र प्रहरी खटिएका थिए । सुरक्षाकर्मीको उपस्थिति कमजोर भएको मौकामा भारतबाट ठूलो संख्यामा नेपाल भित्रिए । पछि, पहाडका जिल्लामा खटिएका सशस्त्र प्रहरीलाई सीमामा खटाइयो । तर, उनीहरूलाई स्रोतसाधन पर्याप्त दिइएन । जसकारण भारतबाट छिर्ने क्रम रोकिएन ।

गृहले सशस्त्र प्रहरीले सम्हालेका कतिपय जिम्मेवारी नेपाली सेनालाई दिएर सीमामा सशस्त्र प्रहरीको संख्या बढाउनेबारे पनि छलफल गर्‍यो । तर, यो प्रस्ताव मन्त्रिपरिषद्सम्म गएन । त्यस्तै, पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री तथा नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत फर्काएर डिउटीमा खटाउन सकेन । गृहमा अनुभवी टिम नहुँदा त्यसको असर सीमा व्यवस्थापनमा देखिएको छ ।

अस्तव्यस्त कन्ट्याक्ट ट्रेसिङ 

कोरोना नियन्त्रणको महत्वपूर्ण काम संक्रमित व्यक्तिहरूसँग भेटघाट भएका व्यक्तिहरूको पत्ता लगाई परीक्षण गर्नु हो ।  संक्रमितको संख्या थोरै हुँदा कन्ट्याक्ट ट्रेसिङ केही प्रभावकारी देखिए पनि पछिल्लो समय अस्तव्यस्त हुँदै गएको छ । ट्रेसिङको काम कसले गर्ने भन्नेमा अलमल देखिन्छ ।

कतिसम्म भने यससम्बन्धी प्रस्ट कार्यविधिसमेत बनाइएको छैन । यसको मुख्य जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई छ । तर, पर्याप्त स्रोतसाधन र जनशक्तिको अभावमा महाशाखाको ट्रेसिङ प्रभावकारी हुन सकेको छैन । उपत्यकाबाहिर मात्र होइन, भित्रै कतिपय ट्रेसिङको काम हुन सकेको छैन । काठमाडौंका नक्साल, मैतीदेवी तथा कपन क्षेत्रमा देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नभएको भन्दै सांसद गगन थापाले समेत केही दिनअघि सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका थिए । सेना र प्रहरीले समेत ट्रेसिङको काम गर्दै आएका छन् । तर, एकीकृत संयन्त्र बन्न सकेको छैन । ट्रेसिङ र परीक्षण पनि सुस्त छ । नयाँ पत्रिका दैनिक अनलाईनबाट

Facebook Comments