Thu. Sep 19th, 2024

चौधर नदी धार परिवर्तन गरी बस्तीमा   

महेन्द्रनगर (कञ्चनपुर), २०८१ असार २७ गते बिहीबार ।  कञ्चनपुरको चौधर नदी धार परिर्वतन गर्दै बस्तीमा पसेको छ । हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन् ।

सोमबार बेल्डाडी गाउँपालिका-५ भुर्षामा चौधर नदीले धार परिवर्तन गरी महाकाली सिँचाइको नहर भत्काएपछि सो क्षेत्रका तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन् । बेल्डाडी गाउँपालिका-५ का वडाध्यक्ष इन्द्र खड्काले चौधर नदी बस्ती पस्दा इमलिया, झिलमिला, वैवाहा, खैरीघाट र बेलौरीको भुडा शिवनगर, कानपुर र कलकत्ता बस्ती डुबानमा परेको बताउनुभयो ।

“अहिले पनि बस्तीमा पसेको पानी सुकिसकेको छैन”, उहाँले भन्नुभयो, “तत्काल नहर क्षेत्रको तटबन्ध नबने ठूलो क्षति हुने भय छ ।” बाढीका कारण गणेश माध्यमिक विद्यालयमा ठूलो क्षति पुगेको छ । बाढीले नहर क्षेत्र कटान गर्दा सो क्षेत्रमा सवारी आवागमन अझै प्रभावित बनेको छ । चौधर नदी गाउँ पस्दा बेल्डाँडी र बेलौरी नगरपालिकामा एक हजार बिघाभन्दा बढी खेतमा लगाएको धानबाली नष्ट भएको स्थानीयवासी बताउँछन् ।

केही स्थानीयको घरसमेत नदीले बगाएपछि बिचल्ली भएको छ । यता बेल्डाँडी गाउँपालिकामा बाढीले एक हजार पाँच सयभन्दा बढी परिवार प्रभावित भएको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताउनुभयो ।

“बाढीले ६ सय परिवारको घरमा भएको अन्न नै बगाएको छ”, अध्यक्ष रानाले भन्नुभयो, “चौधर नदीले बगाएको नहर नबने यहाँ धेरै क्षति हुने त्रास छ ।” यहाँका विस्थापितलाई बेल्डाँडी-२ स्थित मोर्डन केयर बोर्डिङ स्कुलमा राखिएको छ ।

त्यसैगरी, बेलौरीको बाराझाला, भुडा, कानपुर र कलकत्तामा अझै सहज अवस्था भइसकेको छैन । तीन दिनदेखि बेलौरी नगरपालिका-१० भुडाबाट बेलौरी-८ कलकत्तासम्म सडकमा पानी भरिँदा सडक ठप्प छ । बेलौरी नगरपालिका-१० मा चार सय र वडा नं. ८ मा एक सय ५० परिवार चौधर नदीमा आएको बाढीबाट प्रभावित भएका छन् ।

बेलौरीका ओमप्रकाश पन्तले तत्काल बस्ती पसेको ठाउँमा मर्मतकार्य नगरिए दुई पालिकाका धेरै वडा थप प्रभावित हुने बताउनुभयो । उहाँले भत्किएका संरचना निर्माणमा स्थानीयदेखि सङ्घीय सरकारलाई सहयोगका लागि गुहारेका बताउनुभयो । तीन वर्षअघि बेल्डाँडी गाउँपालिका-४ गौडी खल्लादेखी-५ मा रहेको भारतीय सीमासम्म तटबन्ध निर्माणका लागि पहल भए पनि सुनुवाइ भएन । सिँचाइ आयोजनाले शिवनगर क्षेत्रमा २०५० सालमा निर्माण गरेको मूल नहर मर्मतसम्भार नहुँदा अहिले समस्या भएको छ ।
त्यसैगरी महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रामकृष्ण घोडासैनीले बजेट अभावका कारण क्षति भएको नहर मर्मत गर्न नसकिएको बताउनुभयो । “नहरको अवस्था हेर्दा तत्काल बन्लाजस्तो छैन”, उहाँले भन्नुभयो, “५० मिटर नहरको भाग नदीले बगाएको छ भने एक सय २० मिटर नहरमा क्षति पुगेको छ ।”

सिँचाइ कार्यालयले २०६५ सालमा पनि नहर भत्किएर बाढी गाउँ पस्दा सो क्षेत्रमा ठूलो क्षति भएको जनाएको छ । बाढीका कारण मूल नहरमा क्षति पुर्याएकाले तीन हजार चार सय बिघा सिञ्चित क्षेत्रमा पानी सञ्चालन गर्न नसकिने भएकाले तत्काल नहर मर्मतका लागि सिँचाइ विभागलगायत निकायसँग सहयोगको आग्रह गरिएको छ । रासस

Facebook Comments