Fri. Nov 22nd, 2024

खेतीमा रमाउँदै वनकरिया समुदाय   

हेटौँडा, २०८१ असार २६ गते बुधबार । यहाँको मनहरि गाउँपालिका-४ मुसेधापकी सन्तमाया वनकरिया बिहान उठेर भैँसी दुहुने र घाँस कुँडो गरिसकेपछि बाख्रा चराउन लैजानुहुन्छ । १८ वर्ष अघिसम्म वन केराको पातले छाएको झुपडीभित्र कन्दमूल खाएर जीवन निर्वाह गरेको ती दिन उहाँले बिर्सनुभएको छैन । तर, उहाँ अहिलेको जीवनमा रमाइरहनुभएको छ ।

खेती गर्ने र अन्न भित्र्याएर भात खाने सपनासमेत नदेखेका उक्त समुदाय अहिले रोपाइँको चटारोमा छन् । कहिले खनिउँ, निगुरो र माछा मारेर जीविका चलाएको सन्तमायाले सुत्केरी हुँदा पनि कन्दमूलको भरमा बाँच्नुपरेको स्मरण गर्नुभयो । विगत सम्झँदै उहाँ भन्नुहुन्छ, “हामीले चामलको भात खान पाएको १८ वर्षमात्र भयो, त्योभन्दा अगाडि त वनमा जे भेट्यो त्यही खायो, खेतबारी नि थिएन किसानी गर्न जानिएको पनि थिएन ।” मान्छे देख्दा डरले भाग्ने आफूहरु अहिले बस्तीमा बस्ने र खेतीपाती गर्ने भएको सम्झिँदा उहाँ आफै छक्क पर्नुहुन्छ । “योभन्दा स्वर्ग अरु हुन्न”, उहाँले भन्नुभयो । हाल बिताइरहेको जीवनशैलीबाट आफूहरु सन्तुष्ट रहेको उहाँको भनाइ छ ।

वनकरिया समुदायको मुखियासमेत रहनुभएकी उहाँलाई आफ्नो जवानीको दिनहरु जङ्गलमा जङ्गली मान्छेजस्तो भएर बिताउन बाध्य भएको सम्झना आउने गर्छ । सरकारले आफूहरुलाई खोजेर बस्तीमा राख्दासम्म सामाजिक जीवनको बारेमा जानकारी नभएको बताउने सन्तमाया अहिले सुखदुःखका कथा अरुलाई सुनाएर जीवन बाँच्न प्रेरणा दिने गर्नुहुन्छ । तर, उहाँलाई दुःख लाग्ने कुरा हालसम्म आफु बसेको जग्गाको स्वामित्व नपाउनु रहेको छ । अठार वर्षदेखि खनीखोस्री गरेको जमिनमा पसिनासँगै जीवन जोडिएको उहाँ बताउनुहुन्छ ।

समुदायमा आउनु अगाडि जङ्गली कन्दमूलको सहारामा जीवन बिताउने वनकरिया समुदाय पछिल्ला वर्षहरुमा क्रमशः परिवर्तन हुँदै गएका छन् । आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदाय हाल कृषि र उद्यममा आत्मनिर्भर बन्ने प्रयासमा छन् । वनकरिया समुदायको गोठमा भैँसी, बाख्रा, कुखुरालगायतको पशुपन्छी छन् भने उनीहरुले दूध, दही, घ्यू, कुखुरा र खसी बेच्नुको साथै प्राचीनकालदेखि गर्दै आएको माछा मार्ने कामलाई निरन्तरता दिइरहेका छन् ।

सोही बस्तीकी सुन्तली वनकरियाले खेतीपातीबाट छ महिनाभन्दा बढी खान पुग्ने र बाँकी समय सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताले सहज बनाएको बताउनुहुन्छ । उहाँका अनुसार यीबाहेक समुदायको महिला मिलेर साबुन बनाउने काम थालेका छन् । त्यसले पनि आम्दानी हुन थालेको उहाँले बताउनुभयो । सरकारले प्रति व्यक्ति मासिक चार हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । वनमा बस्दा खेतीपातीमा मजदुरीको काम पाउनसमेत गाह्रो हुने गरेकामा अहिले खेती गर्न पाउँदा खुसी लागेको उहाँ बताउनुहुन्छ ।

वनकरिया समुदायबाट पाँच किशोरी र एक किशोरले एसइई परीक्षा उत्तीर्ण गरिसकेका छन् । दुई जना किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् । वनकरिया समुदायबाट पहिलोपटक एसएलसी परीक्षा वि.सं.२०७२ मा उत्तीर्ण गर्नुभएकी पम्फा वनकरिया ‘ल्याब असिस्टेन्ट टेक्निसियन’ विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्ट पदमा काम गरिरहनुभएको मुखिया सन्तमायाले जानकारी दिनुभयो ।

त्यसैगरी दुई जनाले हाल हेटौँडामा रहेर पत्रकारिता अध्ययन गरिरहनु भएको छ । मातृसत्तात्मक समाज रहेको यस समुदाय हाल परिवर्तनउन्मुख देखिएको छ । ‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएको आदिवासी जनजातिमध्येको एक जाति हो । उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटेको भन्दा कम छ । मकवानपुरको मनहरि गाउँपालिका-४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति हो । हाल यहाँ २२ घरधुरीमा ९२ जना वनकरिया बसोबास गर्छन् ।

लोपोन्मुख जाति वनकरियाको बसोबास रहेको यो मुलुककै एकमात्र गाउँपालिका र एकमात्र वडा हो । यहाँका वनकरियाले आफ्नो राष्ट्रिय परिचयपत्र बनाउनुका साथै दुई पटकसम्म चुनावमा भोट हाल्नसमेत पाएका छन् । तर, २० वर्षको सम्झौता गरेर सरकारले बस्तीमा राखेका उनीहरु बसेको १८ वर्ष बित्दासमेत् स्थायीरुपमा बसोबास गर्ने जग्गाको स्वामित्व नपाएकामा उनीहरुको गुनासो छ । अञ्जली थापा/रासस

Facebook Comments