Fri. Sep 20th, 2024

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा   

सिन्धुपाल्चोक, २०८१ असार २३ गते आईतबार । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।

वि.सं. २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका-७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका-१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु-४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताउनुभयो । रासस

Facebook Comments