Mon. Sep 30th, 2024

काठमाण्डूमा पेट्रोल र डिजेलको अभाव, पेट्रोल पम्प अगाडि हजारौंको भीड

भिओके समाचार/काठमाण्डू, २०८१ असार ३ गते सोमबार । विभिन्न मागहरु राख्दै ट्याङ्कर व्यवसायीहरुले गरेको आन्दोलनका कारण काठमाण्डौमा पेट्रोल र डिजेलको अभाव भएको छ ।

अधिकांश पम्पहरु बन्द छन् भने भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा पनि पेट्रोलियम पदार्थ सकिएको जानकारी प्राप्त भएको  छ । आकस्मिक रुपमा रुपमा पेट्रोल पम्प बन्द हुँदा उपभोक्तालाई सास्ती भएको छ भने थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरूलाई पनि व्यवसायीहरुले रोकेका छन् । नेपाल प्रहरीको तिलिङ्गेटारस्थित पेट्रोल पम्पमा समाचार तयार पार्दासम्म पनि सैंयौं सवारीसाधनहरुको भीड लागेको छ भने केही सरकारी पेट्रोल पम्पहरुले थोरै मात्रामा भएपनि पेट्रोल उपलब्ध गराउँदै आएका छन् । तर त्यो माग भन्दा निक्कै कम हो ।

सरकारले खाद्य वस्तुसरह नै पेट्रोलियम पदार्थलाई अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । यी वस्तु ढुवानी वा बिक्री/वितरणमा अवरोध गर्न पाइन्न । तर नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेको छ । चालक, सहचालकलाई श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थालगायत सात बुँदे माग राखेर उनीहरूले हिजोदेखि थानकोट डिपोबाट इन्धन उठाएका छैनन् ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले समस्या समाधान गर्न नेपाल आयल निगम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बद्ध निकायसँग पटक पटक अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । यद्यपी समस्या समाधान र श्रमिकको मागबारे अहिले छलफलमा जुटेको र सकारात्मक परिणाम आउने पनि उहाँले जानकारी दिनुभयो ।

यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रे टेलिभिजनसँग कुराकानी गर्नुहुँदै आज दिउसैदेखि सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुने जानकारी दिनुभयो । फोटो : रमेश हुतवाली

Facebook Comments