Fri. Sep 20th, 2024

भारतद्वारा सुनसरीमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण   

काठमाण्डू, २०८१ जेठ २३ गते बुधबार । ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवन आज उद्घाटन गरिएको छ ।

कूल रु दुई करोड ६३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी र काठमाण्डूस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्तरुपमा उद्घाटन गर्नुभएका हो । त्यस्तै ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको कूल रु तीन करोड पाँच लाख आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित भगवती माध्यमिक विद्यालयको भवन पनि आज उद्घाटन गरिएको छ ।

सो भवनको जिल्ला समन्वय समितिका प्रमुख मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र भारतीय राजदूतावासका प्रथम सचिव शेखरले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति थियो । भारत सरकारको अनुदान सहयोगमा भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक सुविधासँगै भवन निर्माण गरिएको हो ।

त्यसैगरी भारत सरकारको अनुदान सहयोग भगवती माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवन निर्माण गरिएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका प्रमुख, इनरुवा नगरपालिकाका प्रमुख र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको दूतावासले जनाएको छ ।

राससका अनुसार उक्त भवन विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न उपयोगी हुनुका साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना हुने अपेक्षा राखिएको छ । सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन् जसमा १२ वटा परियोजना सुनसरीमा छन् ।

Facebook Comments