Fri. Sep 20th, 2024

राजा वीरेन्द्रको वंशनाश भएको २३ वर्ष पुग्यो

काठमाण्डू, २०८१ जेठ १९ गते शनिबार । तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेव र उहाँका परिवारको विभत्स हत्या भएको आज २३ वर्ष पूरा भएको छ ।

वि.संं. २०५८ साल जेठ १९ गते बेलुकी काठमाण्डूस्थित नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंशनाश भएको थियो । शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा भएको सो  घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । त्यसैगरी राजाका कान्छा भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्ग विक्रम शाहको पनि हत्या भएको थियो ।

नेपाली सेनाका परमाधिपति समेत रहनुभएका तत्कालिन लोकप्रीय राजा वीरेन्द्र र उहाँको वंश विनाश भएको घटनालाई विश्व इतिहासमै रहस्यमय घटनाका रुपमा हेरिएको छ । दरवारभित्रको उच्च सुरक्षाघेरा भित्र नेपाली सेनाका परमाधिपति र उहाँको वंशनै विनाश गर्ने हिसावले गरिएको त्यो हत्याकाण्ड सामान्य योजना वा सामान्य व्यक्तिको मात्र सहभागीताबाट भएको हो भन्न सकिने अवस्था छैन ।

हत्याकाण्डपछि सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो ।  समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । ‘आफूले मन पराएकी युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको’ व्यहोराको निष्कर्ष समितिले निकालेको थियो । तर सो प्रतिवेदनलाई नेपाली जनताले अहिलेसम्म पनि स्विकारेका छैनन् । बरु पटक पटक यस हत्याकाण्डको गहिरो अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग जनताको रहँदै आएको छ ।

उदार स्वभावका राजाको छवि बनाउनु भएका राजा वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उहाँको निधनपछि राजगद्दीमा बस्नु भएका भाइ ज्ञानेन्द्र वीर विक्रम शाहले राजतन्त्र जोगाउन सक्नु भएन । वि.संं. २०६२/६३ को जनआन्दोलनमार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो । वि.संं. २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भयो । दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ ।

हत्याकाण्ड भएको २३ वर्ष पुरा भएसम्मको अवधिमा यस हत्याकाण्डका बारेमा सैयौं लेख, रचना र विश्लेषणहरु प्रकाशित भएका छन् भने सामान्य नागरिकदेखि उच्चपदस्थ अधिकारीहरुले समेत दर्जनौं पुस्तकहरु प्रकाशित गरिसकेका छन् । तर पनि यो हत्याकाण्ड रहस्यको गर्भमै रहेको छ । राजा वीरेन्द्रसहित सो घटनामा मारिनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि !

Facebook Comments