“सद्भावनाको लागि चिया: याची साँस्कृतिक कार्यक्रम तथा नेपालमा आन्हुई सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
- Tea for Harmony Yaji Cultural Salon and Anhui Cultural Tourism Promotion Event in Nepal, 21 May, 2024
रमेश हतुवाली/काठमाण्डू, २०८१ जेठ ८ गते मंगलबार । अन्तर्राष्ट्रिय चिया दिवस, २०२४ को उपलक्ष्यमा काठमाण्डूमा “सद्भावनाको लागि चिया : याची साँस्कृतिक कार्यक्रम तथा नेपालमा आन्हुई सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम”को आयोजना गरिएको छ ।
चाईना इन्टरनेस्नल कल्चर एशोसिएशन, नेपालस्थित चिनियाँ राजदूतावास, चीनको आन्हुई प्रान्तस्थित साँस्कृतिक तथा पर्यटन विभाग, चिनियाँ साँस्कृतिक केन्द्र नेपाल र नेपालस्थित चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयको सयुक्त आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल र चीन ऐतिहासिक कालदेखि नै नेपाली राजकुमारी भृकुटी, कलाकार अरनिको र चिनियाँ भिक्षुहरु स्वान चाङ र फा स्यान जस्ता पुर्खाहरुको पालादेखिनै मित्रवत सम्बन्ध रहँदै आएका असल छिमेकी भएको बताउनु भयो । मन्त्री तामाङले कार्यक्रमको माध्यमबाट चीनको आन्हुई प्रान्त र त्यहाँको चिया सँस्कृतिका साथै आन्हुई प्रान्तका विश्व प्रसिद्ध पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी लिन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै नेपालका इलाम लगायतका क्षेत्रहरु चिया उत्पादनका हिसावले गुणस्तरीय रहेकोले ती ठाउँहरुको भ्रमण गर्न चिनियाँ पाहुनाहरुलाई आग्रह गर्नुभयो । छिमेकी देश चीन र नेपालबीच साँस्कृतिक तथा पर्यटन क्षेत्रको विकासमा आपसी सहयोग र सहकार्यको विशेष सम्भावना रहेको उल्लेख गर्नुहुँदै मन्त्री तामाङले जनस्तरमा पनि सम्बन्ध विस्तार गर्दै लैजानु पर्ने बताउनु भयो ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले अन्तर्राष्ट्रिय चिया दिवसको विशेष दिनमा चियालाई नै मिलनको प्रतीक बनाएर विशिष्ट नेपाली पाहुनाहरुसँग जमघट गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । चीनमा उत्पत्ति भएको चिया विश्वभर लोकप्रिय भएको बताउनुहुँदै राजदूत छन सोङले हालका वर्षहरुमा चिया लगायत नेपालको कर लाग्ने उत्पादनको ९८ प्रतिशत बस्तुहरुमा चीनको सून्य महसुल भक्तानी सेवाका कारण चिनियाँ बजारमा नेपाली चियाको मात्रा बढ्दै गएको जानकारी दिनुभयो । चिया नेपालमा अलैची पछिको दोस्रो ठूलो कृषि निर्यात उद्योग भएको भन्दै उहाँले धेरै नेपालीहरुलाई यसले गरिवीबाट मुक्त गर्न सहयोग गरेको पनि बताउनुभयो ।
चीनको आन्हुई प्रान्तस्थित संस्कृति तथा पर्यटन विभागका उपमहानिर्देशक वाङ चिङले लामो इतिहास र समृद्ध संस्कृति बोकेको आन्हुई प्रान्त प्राकृतिक तथा साँस्कृतिक विविधताले भरिपूर्ण र आकर्षक भएको बताउनु भयो । आन्हुई प्रान्तमा विश्व सम्पदा सूचिमा सूचिकृत प्रशस्त स्थानहरु भएको जानकारी दिनुहुँदै उहाँले च्यू हुवा, तियानतुफेङ पहाड र सिती तथा होङकुन गाउँहरु विश्वकै उत्कृष्ट पर्यटकीय गन्तब्य भएको बताउनु भयो । नेपाल र चीन परम्परादेखिका असल मित्रहरु भएको भन्दै उपमहानिर्देशक वाङ चिङले आन्हुई प्रान्तको चिया, मिठो खाना, रमाईला बगैचा र सुन्दर नदी तथा पहाडहरुको भ्रमण गर्न नेपाली जनतालाई अनुरोध गर्नुभयो ।
कार्यक्रम आयोजक संस्था चिनियाँ साँस्कृतिक केन्द्र नेपालका निर्देशक स्याओ च्याङले नेपालको राजधानी काठमाडौंमा चीनको आन्हुई प्रान्त र आन्हुईको चिया बारे जानकारी गराउन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रले चीन र नेपाल दुई देशबीचको जनस्तरीय समझदारी र विश्वासको अभिवृद्धिका लागि आफ्नो प्रयास जारी राख्ने बताउनु भयो ।
नेपाल चाईना फ्रेण्डसिप फोरमका अध्यक्ष डाक्टर कल्याणराज शर्माले चीनमा अध्ययन गर्दा आन्हुई प्रान्तको भ्रमण गर्ने मौका पाएको स्मरण गर्नुहुँदै त्यहाँको खाना, चिया, परम्परागत संस्कृति, सुन्दर पर्यटकीय स्थल र बौद्धिक व्यक्तिहरुसँगको भेटघाटले प्रभावित भएको बताउनु भयो ।
सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, चीन अध्ययन केन्द्रका सचिव प्रकाश बाबु पौडेल, नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाह, वल्र्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकार लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित गन्यमान्य महानुभावहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तर सम्म विकास गर्न यस्ता समारोहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने रे टेलिभिजनलाई बताएका छन् ।
फोटो सर्वाधिकार : रमेश हतुवाली