Tue. Nov 19th, 2024

सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीद्वारा अध्यक्ष नेपाललाई आग्रह   

काठमाण्डू, २०८० फागुन २२ गते मंगलबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आज उहाँको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेलसहितका नेताहरुले समाजवादीका अध्यक्ष नेपाललाई सँगै मिलेर राजनीतिक यात्रा अगाडि बढाउन आग्रह गर्नुभएको हो । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन गरिएको सहमति सार्वजनिक भएको थियो । भेटका अवसरमा अध्यक्ष नेपालले चार दलको नयाँ सहमतिबारे आफूलाई जानकारी नदिइएको बारे प्रश्न राख्नुभएको थियो । एमालेसँगको विभाजनपछि अध्यक्ष ओली र अध्यक्ष नेपालबीच कोटेश्वरमा पहिलोपटक भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहालले सोमबार पनि अध्यक्ष नेपालसँग कोटेश्वरस्थित निवासमा भेटवार्ता गर्नुभएको थियो ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका अध्यक्ष ओलीले छलफल सकारात्मक भएको बताउनुभयो । सो पार्टीका महासचिव पोखरेलले आफूहरुले नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेको र समाजवादी पार्टी सकारात्मक रहेको बताउनुभयो । राससका अनुसार एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गर्नुभएको बताउँदै यस विषयमा आफूहरुले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिनुभयो । महासचिव भुसालले भन्नुभयो, “उहाँहरुले मिलेर जान गर्नुभएको प्रस्तावलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । कसरी मिलेर जाने भन्ने सम्बन्धमा बुधबार बिहान बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ ।”

शारीरिक अस्वस्थताका कारण केही दिनयता आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनुभएका पूर्वप्रधानमन्त्री नेपाललाई शीर्ष नेताहरुले स्वास्थ्यलाभको कामना पनि गर्नुभएको थियो ।

Facebook Comments