Tue. May 21st, 2024

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय

काठमाण्डू, २०८० पुस २५ गते बुधबार । काठमाण्डू जिल्ला अदालतले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकेको छ ।

आज काठमाण्डू जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर भएका लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको हो । अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहीता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम तीन लाख जरिबाना हुने र पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिबाना ३ लाख र थप २ लाख रकम क्षतिपूर्ति बापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (६) (१) ०७९/०८० लाई भराइदिने ठहर गरेको जिल्ला अदालत काठमाण्डूका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

जिल्ला अदालत काठमाण्डूको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानूनी उपचारका लागि उच्च अदालत जाने उनका वकील सरोजकृष्ण घिमिरेले बताउनुभएको छ ।

Facebook Comments