Sat. Nov 23rd, 2024

इजरायली र गाजा क्षेत्रमा मृत्युहुनेहरुको संख्या ११ सय भन्दा बढी, गाजापट्टीमा १ लाख २३ हजारभन्दा बढी मानिस विस्थापित

- हमास-इजरायल युद्ध २०८०.६.२०

गाजा, २०८० असोज २२ गते सोमबार । प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता एक हजार एक सय ४३ जनाको मृत्यु भैसकेको छ ।

प्राप्त समाचार अनुसार इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी रहेको छ भने गाजामा ४ सय १३ जनाको मृत्यु भएको छ । द्वन्द्व सुरु भएयता गाजा पट्टीमा १ लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौँ हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रवक्ता अदनान अबु हसनाले यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरेको बताउनु भएको छ । गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन् ।

प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।

इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ । हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायमालाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडीएफ) का सैनिकसँग झडप भएको छ ।

यसैबीच कतारले इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले आइतबार जनाएको छ ।

अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ जना प्यालेस्टिनी महिला (युद्धवन्दी) को रिहाइ गरिएमा हमासद्वारा कक्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्ने गरी तत्काल सम्झौता गर्न खोजिरहेको नाम नबताउने शर्तमा स्रोतले सिन्ह्वा समाचार एजेन्सीलाई बताएको छ ।

Facebook Comments