Fri. Nov 22nd, 2024

विचार : ममत्व र सम्मानको लोकपर्व जितिया   

 -हिमांशु चौधरी/काठमाण्डू, २०८० असोज १९ गते शुक्रबार । जनसमुदायका मान्यता र विश्वासलाई लोकपर्वको सङ्ज्ञा दिइएको छ । यसमा मानवीय विशिष्ट क्रियाकलाप, दैनिक जीवन र उपलब्धि सन्निहित हुन्छ जसले जीवनशैलीलाई एउटा निश्चित धारतिर डो¥याइ रहेको हुन्छ । जितिया पर्वमा कुनै शास्त्रीय देवताको नभई लोकदेवताको आराधना गरिन्छ । आमाहरुले सन्तानको दीर्घायु, आरोग्य जीवनको वरदान प्राप्त गर्न लोकदेवताको पूजाअर्चना गर्ने मान्यता छ । सन्तानको रक्षाका लागि कठोर व्रत गरी लोकदेवताबाट आशीर्वादको कामना गर्नु आमाको ममत्वको उत्कर्ष रुप देखिन्छ ।

मातृत्वप्रतिको सम्मानको प्रतीक मानिएको जितिया पर्वमा आमाको सन्तानप्रतिको ममत्वको सांस्कृतिक दिग्दर्शनको बोध हुन्छ । यस पर्वले महिलाहरुको सांस्कृतिक भूमिकालाई उजागर गर्दे शिल्पगत तथ्य, वस्तु, धारणा, अभ्यास, मूल्य र परम्परालाई निद्र्वन्द्व प्रवाहित गर्दछ । मूलतः जितिया व्रत गर्नुले कुनै आकस्मिक खतराबाट रक्षा र वंश वृद्धिको विश्वास पनि पाइन्छ । यसका लागि असोज महिनाको सप्तमीदेखि नवमी तिथिसम्म विधिपूर्वक व्रत गरिन्छ । यो व्रत गर्दा सन्तानको सबै सङ्कट दूर हुन्छ भने विश्वास प्राचीनकालदेखिको मान्यता छ । पौराणिक ग्रन्थमा यो व्रतको महत्व महाभारतकालदेखि नै रहेको उल्लेख छ । यसमा मन, वचन र काममा शुद्धतालाई महत्व दिई जीवन शक्ति प्रदान गरिएको छ ।

जीवितपुत्रिका व्रत वा जिमुतवाहन व्रत पनि भनिने गरिएको जितिया अत्यन्त नियम निष्ठापूर्वक कठोर उपवासका साथ आमाहरुले जितिया पर्व मनाउने परम्परा रहेको छ । भगवान जिमुतवाहनले सन्तानको रक्षा एवं कल्याण गर्छन भन्ने आस्था छ । यसका लागि आमाले जिमुतवाहन देवताको निर्जला व्रत बसी प्रार्थना बस्छन् । वर्तमानमा जितिया धार्मिक अनुष्ठान र सांस्कृतिक लोकपर्वका रुपमा सीमित नरही विशिष्ट उत्सव स्वरुप पनि धारण गरेको छ । परिणाममा पर्व सुरु हुनुपूर्व विभिन्न स्थानमा संरक्षण, सांस्कृतिक जागरणमूलक उत्सवको आयोजन गरी लोकपर्वको सांस्कृतिक आधार प्रस्तुत गर्ने क्रम बढेको देखिएको छ ।

प्रकृति र पर्यावरणका विविध पक्षसंग गहिरो साइनोको निरन्तरताको प्रतीक रहेको जितिया पर्वले वनस्पतिक सम्पदाको संरक्षण तथा टेवालाई बल पु¥याइ रहेको छ । घिरौंलाका पात , पूmल , तोरीको तेल, खरि, नरिवल, कांक्रा, केराउ, केरा केराको पात, बांसको पात, पान पूजा सामग्रकिा रुपमा प्रयोगले यसको पुष्टि गर्दछ । माटाका स्याल चिल बनाई पूजाले पनि यसको विशिष्टतालाई उजागर गर्दछ । यी वस्तु, सामग्रीबारे शास्त्रीय पक्ष उल्लेख नभए पनि स्थान, क्षेत्र, परिवेशका उत्पादन तथा साधनहरुलाई उपयोग गरी समुचित स्थान, सम्मान, पूजायोग्य र प्रसादका रुपमा महत्व दिएको पाइन्छ । पूजामा आउने यी विविध वनस्पति, जीवजन्तु तथा पोखरी आदिको प्रसंगले प्रकृतिप्रतिको सचेतना सदियौदेखि जारी रहेको बोध गराउँछ ।

लोककल्याणका पक्षहरुलाई सांस्कृतिक आवरणका संरक्षण दिंंदै समाजका हरेक जातिले यो पर्व मनाउने गर्दछन् । मातृत्व पक्षप्रति सम्मान गरी सांस्कृतिक अविभाज्य अंगका रुपमा जीवन शक्ति प्रदान गरिरहेको छ । आफ्ना दिवङ्गत सासुका साथै दिवंगत आमा तथा अन्य पूज्य महिलाप्रति श्रद्धास्वरुप पितराइन खुवाउने गरिन्छ । पर्वले मानवीयता, समानता, प्रकृति, पर्यावरण आदिलाई संरक्षण एवं प्रवद्र्धन गर्न गतिलो स्थान प्रदान गरेको छ । जितिया पितृ पक्षअन्तर्गत पर्दछ । पितृ पक्षमा पुरुष वर्गले आफ्ना दिवङ्गत पितृलाई पक्षभरि नै तर्पण दिने गर्दछन् भने महिला वर्गले जितिया व्रतमा दिवङ्गत महिलालाई नैवेद्य अर्पण गर्ने गर्दछन् ।

जितियामा सप्तमी तिथिमा व्रतार्थी स्नानादि गरी पवित्र भई घिरौंलाको पातमा तोरी वा सस्र्युको तेल र पिना (खरि) चढाएर जिमुतवाहन देवताको पूजा गरिन्छ । यसलाई तेलखरि भनिन्छ । यो तेलखरि प्रसादस्वरूप घरका सबैले टाउकोमा लगाउने गर्दछन् ।

सप्तमी तिथिकै दिन दिवंंगत महिलाप्रति श्रद्धास्वरूप नैवेद्य अर्पण गरी महिलालाई निम्तो दिई भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ । यसै दिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने परम्परा रहेको छ । शाकाहारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ । सो दिन नैवेद्यमा गहुँको पिठो र गुड मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चिनी जस्ता वस्तुहरु आफ्ना कुलवंश, रीति परम्पराअनुसार चढाइने गरिन्छ ।

सोही तिथिको रातिको अन्तिम प्रहरमा व्रतार्थी दही, च्यूरा । फल, अमोट, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ओठङन भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ । नवमी तिथिमा स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ । यस पर्वमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।

विशेष रुपले आइतवार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहिछन् भन्ने मान्यता रहेको छ । जितिया पर्वको मुख्य उद्देश्य मोक्षप्राप्ति र परिवारको कल्याणको कामना गरिन्छ ।

अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि वत्रको सङकल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्यान्हतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देवताका बारेमा व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आप्mना घर फकिन्र्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।

भविष्य पुराणका अनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको असिम कृपा रहेकाले नियम निष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । हिन्दू धर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा छ । सोही अनरुप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ । चिल र स्याललाई नैवेद्य चढाउनुले पशुपंछीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।

कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रुखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रुखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथा वाचन गरेका थिए । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे । सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो ।

मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के । उनीहरु फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो । कालक्रममा प्रयागको कुम्भ मेला दुबैको मृत्यु भयो । कुुम्भमा मृत्यु भएका कारण दुबैको जन्म वेदका ज्ञाता भास्कर नामक ब्राम्ह्णको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पुरावतीका रुपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो तर मृत्यु भयो ।

वर्षोंपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आफ्नी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्युु भएको भनी जानकारी गराएको धामिर्क ग्रन्थमा उल्लेख गरिएको छ । जितिया व्रतमा प्रयोग हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौंलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृति दुबै दृष्टिले महत्वपूर्ण मानिन्छ । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एक दिनपछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले खानपान र विविधताको पहिचान गराउँछ । ओठङनको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मियताको बोधका साथै सांस्कृतिक मान्यता प्रतिबिम्बित भएको पाइन्छ ।

जितिया पर्वलाई दसैं आगमनको सङकेतका रुपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ । यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पूजन गरिन्छ । छोरा र छोरीमा भेद्भाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रुपमा बुझ्नु जरुरी छ । पारिवारिक जीवन सुखमयको कामना, पितृवर्गप्रति कुलपुवर्गले मात्र नभई कुल वधू वर्गले समेत श्रद्धा व्यक्त गर्ने, खानपानको विविधताको पहिचान, सामाजिक सद्भाव वृद्धि, आमाद्वारा सन्तानप्रति ममत्व र समतामूलक सभ्य समाज निर्माण गर्नेतर्फ प्रेरणा एवं उत्साह प्रदान गरी मौलिक संस्कृतिको मूल स्वरुप दृष्टिगोचर हुन्छ । रासस

Facebook Comments