Sun. Nov 24th, 2024

१९औँ एसियाली खेलकुद प्रतियोगिता २०२२ को भव्य उद्घाटन, समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी

काठमाण्डू, २०८० असोज ६ गते शनिबार । १९औँ एसियाली खेलकुद प्रतियोगिता २०२२ को भव्य उद्घाटन भएको छ ।

चीनको दक्षिणपूर्वी सुन्दर शहर हाङ्चौस्थित ओलिम्पिक रङ्गशालामा भव्यरुपमा चीनका राष्ट्पति सि चीनफिङले उद्घाटन गर्नुभएको सो समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो ।

साथै परराष्ट्र मन्त्री एनपी साउद, यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङलगायत उद्घाटन समारोहमा सहभागी हुनुभयो ।

उद्घाटन समारोह करिब दुई घण्टासम्म चलेको थियो । उद्घाटनमा मार्च पासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दो खेलाडी वीरबहादुर महराले बोक्नुभएको थियो । दुवै खेलाडीले सन् २०१९ मा नेपालमा भएको १३औँ साग खेदकुद प्रतियागितामा स्वर्ण पदक जित्नुभएको थियो । यस प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी हुँदैछन् । जसमा महिला १२७ र पुरुष १२६ रहेका छन् ।

चीनको चीनको हाङचौंमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी नेपाली खेलाडी मार्चपास गर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो ।

रेडियो नेपालका अनुसार प्रतियोगिता विभिन्न ४५ देशका १२ हजार चारसयभन्दा बढी खेलाडी ४० खेलमा सहभागी हुँदैछन् । नेपालले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङमा रजत पदक प्राप्त गरेको थियो । प्रतियोगिताको उद्घाटन आज भए पनि फूटबल, क्रिकेट, भलिबल र टेबुलटेनिसका खेलहरु यसअघि नै सुरु भइसकेका छन् ।

सन् २०२२ मा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारणले यसवर्ष आयोजना हुन लागेको हो । प्रतियोगितामा यसवर्षको नारा ‘हर्ट टु हर्ट’ अर्थात् ‘मुटुदेखि मुटुसम्म’ रहेको छ । चीनले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि सन् १०९० र २०१० मा पनि चीनले प्रतियोगिता आयोजन गरेको थियो । एसियाली खेलकुदको सुरुवात सन् १९९१ मा भारतको नयाँ दिल्लीबाट भएको थियो ।

चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोह । तस्बिर : प्रदीपराज वन्त, रासस

नेपालबाट यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुदमा दुई सय तीन खेलाडी सहभागी भएका थिए भने सन् २०१८ को इन्डोनिसियाको जकार्तामा सम्पन्न प्रतियोगितामा एक सय ८५ खेलाडी सहभागी थिए ।

नेपालले हालसम्म एसियाली खेलकुद प्रतियोगिताबाट तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङ खेलबाट दुई रजत र २२ कास्य पदक प्राप्त गरेको छ ।

Facebook Comments