Sun. Nov 24th, 2024

एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ आजदेखि कार्यान्वयनमा, अर्थमन्त्रालयमा कार्यक्रम चलिरहँदा एमसीसी कार्यान्वयनविरुद्ध विप्लव नेतृत्वको नेकपा सडकमा

- ‘एमसिसी नेपाल कम्प्याक्ट’ कार्यक्रम कार्यान्वयनमा

काठमाण्डू, २०८० भदौ १३ गते बुधबार । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरिएको छ ।

मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो । अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेशसम्बन्धी पत्र आदानप्रदान गर्नुभयो ।

ए.आई.एफ.सम्बन्धी पत्र आदानप्रदान कार्यक्रममा अर्थमन्त्री डाक्टर महतले एमसिए–नेपाल अन्तरगत कार्यान्वयन हुने विद्युत् प्रसारणलाईन र सडक आयोजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । एमसीसी कार्यान्वयनको चरणसम्म आउने क्रममा विभिन्न उतावचढाव भोग्नु परेको गुनासो गर्नुहुँदै मन्त्री महतले, नेपालले पूर्वाधारका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

एम.सि.ए. नेपालअन्तरगतका सडक आयोजनाले नागरिकलाई उत्पादनमा जोड्न र उद्यम व्यवसायका लागि सहजता दिने मन्त्री महतको भनाई छ । नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले अब निर्माणहुने प्रसारणलाइनले नेपालभित्रको प्रसारण प्रणाली सहज बनाउने मात्र नभइ भारतसँगको अन्तरदेशीय विद्युत व्यापारका लागि पनि महत्वपूर्ण हुने मन्त्री महतले बताउनु भयो ।

अर्थ सचिव एवं एमसिए–नेपाल सञ्चालक समिति अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालको विद्युत् व्यापारमा लागि प्रसारण आयोजना महत्वपूर्ण रहेको बताउनुभयो । जग्गा अधिग्रहणको काममा शीघ्रता दिएर चाँडै सक्ने र परियोजना कार्यान्वयनका क्रममा अनुगमनको काम प्रभावकारी ढङ्गले गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

एमसिए–नेपालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) खड्गबहादुर विष्टले जग्गा अधिग्रहण र मुआब्जाको काम आगामी डिसेम्बर सम्ममा सकिसक्ने तयारी रहेको जानकारी दिनुभयो । प्रसारणलाईनको ठेक्का प्रक्रिया सुरु भइसकेको उहाँको भनाइ छ ।

नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले दुई देशबीच ७५ वर्ष देखिको मैत्रीपूर्ण सम्बन्धबारे स्मरण गर्नुहुँदै एमसिसी नेपाल कम्प्याक्टले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्ने विश्वास व्यक्त गर्नुभयो ।

एम.सि.सी.का कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एम.सि.सी. अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा इआईएफ एक महत्वपूर्ण कोशेढुङ्गा रहेको बताउनुभयो ।

यसैबीच अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध प्रदर्शन गरेका छन् ।

नेकपाका विप्लव, खड्गबहादुर विश्वकर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका धर्मेन्द्र वास्तोला लगायतका नेताहरुले काठमाण्डूको माइतीघरदेखि बानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गर्नुभएको हो ।

माइतीघरमा प्रदर्शन भइरहँदा सिंहदरबारमा भने अर्थमन्त्री डा.प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गर्नुभएको थियो ।

Facebook Comments