रामचन्द्र पौडेल राष्ट्रपतिमा दोब्बर भन्दा बढी मतले निर्वाचित
काठमाण्डू, २०७९ फागुन २५ गते बिहीबार । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा निर्वाचनमा ३ सय १३ सङ्घीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । मतदानमा सङ्घको १ र प्रदेशको ४ मत बदर भएको थियो । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ ८ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल ८ सय ८२ मतदाता कायम छन् ।
निर्वाचन समितिका अनुसार पौडेलले सङ्घतर्फ २ सय १४ र प्रदेशतर्फ ३ सय ५२ मत प्राप्त गर्नुभएको थियो । उहाँले कूल ३३ हजार ८ सय २ मतभार प्राप्त गर्नुभयो । यसैगरी उहाँका प्रत्यासी नेम्वाङले सङ्घतर्फ ९८ र प्रदेशतर्फ १ सय ६२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । नेम्वाङले कुल १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभएको थियो ।
मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो । पूर्वसभामुख पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्थ्यो भने अर्का पूर्वसभामुख नेम्वाङलाई एमालेको साथ थियो ।
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा वि.सं. २०६२/६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।