गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे संक्रान्ति
-शंकर श्रेष्ठ , मलेखु, २०७९ माघ १ गते आईतबार । माघे संक्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् ।
विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ १ गते धादिङ, नुवाकोट र रसुवाको ठाउँठाउँमा गोरु जुधाइ मेला मनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने उद्देश्यले धादिङ जिल्लाका मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायत ऐतिहासिकस्थलमा गोरु जुधाइएको छ ।
सुरुका वर्षमा नेपाल पर्यटन बोर्डले चासोका साथ प्रचार थालेको गोरु जुधाइ मेलालाई अहिले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनको एउटा पाटोको रूपमा लिएको छ । धादिङ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल भन्नुहुन्छ, “पर्यटन प्रवद्र्धनसँगै संस्कृतिको विकासको रुपमा पनि गोरु जुधाइलाई लिएर गाउँपालिकाले कार्यक्रमको व्यवस्थापन गरिरहेको छ ।”
माघे सङ्क्रान्ति भन्ने वित्तिकै देशका विभिन्न ठाउँमा घ्यू, चाकु, तरुल खाएर मनाइने प्रचलन रहेको छ तर धादिङ, नुवाकोट, रसुवा, गोरखालगायत पहाडी जिल्लामा भने गोरु जुधाइको रौनक छुट्टै छ । बलवान् गोरुहरूबीच रोचक घम्साघम्सी हेर्न सहर बजारमा रहेका पनि गाउँ फर्किने गरेका छन् । आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एक मात्र गोरु जुधाइ मेला विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको ‘बुलफाइट’ पनि बिर्साउने भिन्दै आकर्षण बनेको स्थानीयवासी बताउँछन् । “एक दशक अघितिर कतैकतै मात्रै गोरु जुधाइन्थ्यो, पछिल्लो वर्षमा यसको आकर्षण निकै बढेको छ”, हरेक वर्ष गोरु जुधाउनका लागि गोरु पाल्दै आउनुभएका मैदीका टेकबहादुर तामाङ भन्नुहुन्छ, “अहिले त जताततै गोरु जुधाउन थालियो, युवा पुस्ताको आकर्षण पनि निकै बढेको छ ।”
जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्त्व पनि जोडिएको छ । माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत एउटा परम्परा हो गोरु जुधाउने । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको मैदीकोट खड्गदेवी मन्दिर व्यवस्थापन समितिका सचिव नरेन्द्र शाहले बताउनुभयो ।
रसुवाको बेत्रावती नेपाल र तीब्बतबीचको भोट युद्धको सन्धि भएको स्थलमा मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकार बताउँछन् । अर्कोतिर बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्वदन्ती छ ।
पहिलापहिला छिमेकीले रमाइलो स्वरूप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रूपमा गोरु जुधाइँदै आएको छ । बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका गोरु जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शक देखिन्छन् । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्काे पक्षकाले जितेको ठहरिन्छ । कुन गोरु कुनसँग जुधाउने, उमेर र आकार हेरेर निर्क्योल गरिन्छ ।
कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाएर मनोरञ्जन लिने धादिङ, नुवाकोट र रसुवा जिल्लाको यो सदियौँ पुरानो परम्परा हो । बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुका आउँदा भान्जालाई देखाउनको लागि सुरु गरिएको गोरु जुधाउने परम्परा पछिल्लो वर्षमा धादिङको थुप्रै स्थानमा सुरु भएको छ । रासस