Sun. Nov 24th, 2024

कर्णालीको मुख्यमन्त्रीमा माओवादी दलका नेता शर्मा नियुक्त   

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका संसदीय दलका नेता राजकुमार शर्मालाई नियुक्त गरिएको पत्र प्रदान गर्नुहुँदै प्रदेश प्रमुख तिलक परियार । तस्बिरः सुरेश आचार्य, रासस

कर्णाली, २०७९ पुस २७ गते बुधबार । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा शर्माले आज बेलुका ५ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको थियो ।

शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेसँगै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम आजै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य विन्दमान विष्टका अनुसार मुख्यमन्त्रीमा माओवादी केन्द्रका १३, नेकपाका १०, राप्रपा र एकीकृत समाजवादीका एक/एक गरी २५ प्रदेशसभा सदस्यको समर्थन रहेको छ । मुख्यमन्त्रीको शपथ ग्रहण भने बिहीबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Facebook Comments