Sat. Oct 5th, 2024

गण्डकी प्रदेश : मुख्यन्त्रीसहित तीनजना मन्त्रीको सपथ   

- खगराज अधिकारी मुख्यमन्त्री नियुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ लिनुहुँदै। तस्बिर : धनबहादुर गुरुङ, रासस

गण्डकी, २०७९ पुस २५ गते सोमबार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित तीनजना विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । आज यहाँ आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ खुवाउनुभएको हो ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सोमबार गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरु हरिबहादुर चुमान, सिता सुन्दास र पञ्चराम गुरुङले पद तथा गोपनीयताको सपथ लिनुहुँदै । तस्बिर : राधिका कँडेल, रासस

विनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान, सीताकुमारी सुन्दास र पञ्चराम गुरुङले सपथ ग्रहण गर्नुभएको हो । चुमान नेकपा (माओवादी केन्द्र), सुन्दास नेकपा (एमाले) र गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसअघि आजै प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी-पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिर : राधिका कँडेल, रासस

मुख्यमन्त्री अधिकारीलाई प्रदेशसभा कूल ६० सदस्यमध्ये सत्ता गठबन्धनका ३२ सहित एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको छ । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा कास्की-१ (१) बाट निर्वाचित हुनुभएको थियो ।

वि.सं. २०७४ मा कास्की–१ बाट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गर्नुभएका अधिकारी वि.सं. २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बन्नुभएको थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मनुभएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिनुभएको थियो ।

वि.सं. २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुग्नुभएको थियो । राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बताउनुभएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बन्नुभएको थियो । अधिकारीको संसदीय यात्रा वि.सं. २०५१ देखि सुरु भएको थियो ।

उहाँ पार्टीको सचेतक, पोलिटब्यूरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य हुनुहुन्छ । अधिकारी एमालेको सङ्गठन विभाग प्रमुखसमेत हुनुहन्छ । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपा हुँदा उहाँले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह-इञ्जार्चको जिम्मेवारी पाउनुभएको थियो ।

मुख्यमन्त्रीमा नियक्त भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले आफ्नासामु असाधारण जिम्मेवारी आएको बताउनुभयो । सबै राजनीतिक दलहरुका बीचमा सहमति र सहकार्य गर्दै अगाडि मुख्यमन्त्री अधिकारीको भनाइ छ । उहाँले समुन्नत गण्डकीको लक्ष्य साकार पार्न सङ्घ र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । रासस

Facebook Comments