वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ
काठमाण्डौं, २०७९ पुस १२ गते मंगलबार । वन तथा वातावरण विभागले काठमाण्डौं उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ । विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा रहेको जनाएकोे छ ।
प्रदूषण जाँचमा पास हुन नसक्ने गाडीलाई रु. एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ । कैफियत भेटिएमा वातावरण संरक्षण ऐन-२०७६ को दफा ४१को उपदफा-२ अनुसार जरिवाना हुने बताइएको छ । यही पुस १ गतेदेखि सुरु भएको प्रदूषण जाँच अभियानमा काठमाडौँ उपत्यकामा चल्ने कम्तीमा पनि २८ भन्दा बढी गाडीलाई कारबाहीसहित जरिवाना गरिएको विभागले जनाएको छ ।
गाडीहरुले फ्याँक्ने धुवाँको अवस्थाबारे प्रदूषण जाँच गर्ने ‘स्मोक डेन्सिटीमिटर’ मार्फत छड्के जाँच सुरु गर्ने गरिएको विभागका प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदूषण जाँचमा फेल भएका गाडीधनीलाई रु पाँच हजार जरिवाना तिराइएको र तीन दिनभित्र मर्मत गराएर पुनः परीक्षणका लागि विभागमा आउन भनिएको छ ।
उक्त जाँचमा काठमाण्डौं उपत्यकामा चल्ने गाडीहरुले फ्याँक्ने धुवाँको अवस्था खराब देखिएको बताइएको छ । “भाडामा चल्ने धेरै गाडी प्रदूषण जाँचमा फेल भएका छन्,” वातावरण विभागका प्रवक्ता पौडेलले भन्नुभयो, “विभागले विशेषगरी डिजलबाट चल्ने जिप, भ्यान, बसलगायतको परीक्षण गर्दै आएको छ, गाडी प्रदूषण पास नभएसम्म पटक-पटक जाँच गर्न लगाउनेछौँ ।”
यसैगरी विभागले टोली बनाएर उपत्यकाका विभिन्न ठाउँमा गाडीहरुले फ्याँक्ने धुवाँको अवस्था बुझ्न छड्के जाँच पनि गरिरहेको छ । टोलीले प्रदूषण जाँच गर्ने ‘स्मोक डेन्सिटीमिटर’ मार्फत गाडीले फ्याँक्ने धुवाँको परीक्षण गर्दै आएको हो । छड्के जाँचमा प्रदूषण जाँचपासका रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचमा अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने जनाइएको छ । रासस