Sat. Nov 23rd, 2024

ज्येष्ठ सदस्य राणाबाट प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा बिहीबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आयोजित विशेष समारोहमा नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउँदै । चन्द्रकला क्षेत्री, रासस

काठमाण्डौं, २०७९ पुस ७ गते बिहीबार । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिँदै नवनिर्वाचित सांसद । तस्बिरः प्रदीपराज वन्त, रासस

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उहाँले सांसदहरुलाई शपथ गराउनुभएको हो । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुग्नुभएको थियो । संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिँदै नवनिर्वाचित सांसद । तस्बिरः प्रदीपराज वन्त, रासस

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको थियो । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाउनुभएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित १ सय १० गरी कूल दुई सय ७५ सांसद छन् । शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । रासस

Facebook Comments