Sun. Nov 24th, 2024

नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा

काठमाण्डौं, २०७९ पुस ६ गते बुधबार । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ः०० बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ ।

शपथ गराए लगत्तै सांसदलाई संसद्को लोगो समेत प्रदान गरिने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ ।

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिए लगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।

Facebook Comments