अर्जेन्टिनाको हातमा विश्वकप
- ३६ वर्षपछि अर्जेन्टिना बन्यो विश्वकप च्याम्पियन
काठमाण्डौं, २०७९ पुस ३ गते आईतबार । फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।
अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।
खेलको २३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लियोलन मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाए । पेनाल्टी क्षेत्रभित्र फ्रान्सका ओस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसको सदुपयोग गर्दै मेस्सीले गोल गरेका थिए ।
खेलको ३६औँ मिनेटमा डि मारियाले अर्जेन्टिनाका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । मारियाले पेनाल्टी एरियाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
खेलको ८०औँ मिनेटमा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए भने त्यसको ८१औँ मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै खेल बराबरीमा पुगेको थियो । खेलको निर्धारित समयसम्म दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।
अतिरिक्त समयमा पुगेको खेलमा अर्जेन्टिनाका लागि १०९औँ मिनेटमा मेस्सीले गोल गरे । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाए पनि रिबाउन्डमा मेस्सीले गोल गर्न सफल भए भने अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सका लागि केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए ।
अतिरिक्त समयमा दुवै टोलीले एक-एक गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा गोलरक्षक इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिना उपाधि जित्न सफल भयो । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । उपविजेता बनेको फ्रान्सका लागि केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे भने किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्नबाट चुके । यसअघि फ्रान्स सन् १९९८ र २०१८ मा विजेता बनेको थियो ।
एम्बाप्पेलाई गोल्डेन बुट
प्रतियोगितामा सबैभन्दा धेरै आठ गोल गरेका फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाए । उनले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए । उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट पाएका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा सात गोल गरेका थिए ।
साथै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक भए भने ‘योङगेष्ट प्लेयर’ एन्जो फर्नान्डेज भए ।