सवारी दुर्घटनामा सञ्चारकर्मी विश्वकर्माको निधन
भिओके समाचार/चितवन, २०७९ मंसिर ६ गते मंगलबार । सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाण्डौं जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा४ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना २ ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो । माइक्रोको अगाडि भाग ट्रकको पछाडि भागमा ठोक्किएर कुच्चिएपछि गम्भिर घाइते हुनुभएका विश्वकर्मालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक समेत रहनु भएका ३५ वर्षीय विश्वकर्मासंगै दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।