काउन्सिलको निर्वाचन विशेष अनुगमन : केही सञ्चारमाध्यमबाट एक पक्षीयरुपमा समाचार सम्प्रेषण
काठमाण्डौं,२०७९ कात्तिक २२ गते मंगलबार । निर्वाचनको समय नजिकिँदै जाँदा एउटै सञ्चारमाध्यमबाट एउटै दल तथा उम्मेदवारका विषयमा एकपक्षीयरुपमा समाचार सामग्री सम्प्रेषण भएको पाइएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चारमाध्यममा आचारसंहिता पालनाका सन्दर्भमा प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन विशेष अनुगनका क्रममा केही सञ्चारमाध्यममा अन्य कुनै दलका समाचारले स्थान नै नपाएको पाइएको हो ।
काउन्सिलले गत असोज २८ गतेदेखि निर्वाचनका समयमा सञ्चारमाध्यममा आचारसंहिता पालना भए÷नभएको अनुगमन सुरु गरेको थियो । विसं २०७९ असोज ११ गतेदेखि मुलुकभर निर्वाचन आचारसंहिता लागू भएको थियो । अनुगमनका क्रममा कुनै राजनीतिक दलका उम्मेदवारलाई निर्वाचनमा हानी पु¥याउने किसिमले लेखसहितका सामग्री सम्प्रेषण भएको पाइएको थियो । अनुगमनका क्रममा छनोट गरिएका सञ्चारमाध्यमले सम्बन्धित क्षेत्रमा निश्चित उम्मेदवारले जित्ने सम्भावना प्रवल भएको, कुनै उम्मेदवारसम्बन्धी समाचारलाई सामाजिक सञ्जालमा ‘बुस्ट’ गर्ने गरिएको, एउटा दलको उम्मेदवारलाई निरिह र अर्कोलाई अतिप्रशंसा गर्ने प्रवृत्ति देखिएको पाइएको छ ।
अनुगमनका क्रममा प्राप्त तथ्यका आधारमा काउन्सिलले २८ वटा सञ्चारमाध्यमलाई आचारसंहिता उल्लङ्घनका गाम्भीयर्ताका आधारमा कारबाही गरेको छ । काउन्सिलले एक रेडियो, एक टेलिभिजन र एक पत्रपत्रिका तथा सात अनलाइनलाई स्पष्टीकरण सोधेको छ । पाँच वटा अनलाइनलाई ध्यानाकर्षण, पाँच अनलाइन, एक टेलिभिजन र दुई पत्रपत्रिकालाई सचेत तथा दुई अनलाइनलाई पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिइएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराले जानकारी दिनुभयो । काउन्सिलले दुई अनलाइनलाई नेपालभित्र प्रकाशन÷प्रसारण गर्न नमिल्ने गरी रोक लगाएको छ ।
काउन्सिलले विषयगत र वस्तुगत विधिबाट निर्वाचनमा आचारसंहिता परिपालना भए/नभएको अनुगमन गरेको थियो । प्रदेशस्तरमा प्रकाशन र प्रसारणको पहुँचलाई हेरेर काउन्सिलले अनुगमनका लागि सञ्चारमाध्यमको नमूना छनोट गरेको थियो । यसबीचमा काउन्सिलले ६८ वटा पत्रपत्रिका, ८८ वटा अनलाइन, ३७ वटा रेडियो र १२ वटा टेलिभिजन गरी कूल दुई सय २५ वटा नमूना छनोट गरेको थियो । सञ्चारमाध्यम तथा पत्रकारबाट प्रयोग भएका सञ्चारमाध्यमको प्रवृत्तिगत अनुगमन गरिएको काउन्सिलले जनाएको छ । रासस