केदारनाथका तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
भारत, २०७९ कात्तिक १ गते मंगलबार । भारतको उत्तराखन्डस्थित केदारनाथ धाममा पुगेर फर्किरहेका तीर्थयात्री सवार हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । आज दिउँसो १२ बजे उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना भएको हो । उक्त हेलिकप्टर केदारनाथबाट तीर्थयात्रीहरूलाई लिएर गुप्तकाशीतर्फ जाँदै गर्दा पहाडमा ठोक्किएर विष्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। केदारनाथबाट २ किलोमिटर नजिक गरुडचट्टी भन्ने स्थानबाट तीर्थयात्रीहरूलाई लिएर गुप्तकाशीतर्फ जाँदै गर्दा पहाडमा ठोक्किएर विष्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटना भएलगत्तै उद्धारका लागि टोली पुगेको जनाइएको छ ।
खराब मौसमका कारण दुर्घटना भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । निजी कम्पनीको उक्त हेलिकप्टरमा छ जना दर्शनार्थी र एक पाइलट सवार रहेको बताइएको छ । प्रत्यक्षदर्शीले ठूलो आवाज सुनेपछि सरकारी अधिकारीलाई यसबारे सूचना दिएका थिए । हेलिकप्टर केदारनाथबाट यात्री लिएर फर्कदै गर्दा केहीबेरमै दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनाग्रस्त क्षेत्रमा हिमपात भइरहेको थियो । दुर्घटनाको समयमा उक्त स्थानमा बाक्लो हुस्सु र बादल लागेको र असिना पानी परिरहेको थियो । कुहिरो र कम भिजिबिलिटीका कारण हेलिकप्टर पहाडमा ठोक्किएर विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार हेलिकप्टर खसेलगत्तै इन्जिन उडेको थियो र हेलिकप्टर विस्फोट भएको थियो । गरूडछट्टी नजिकैको पहाडी खेतमा हेलिकप्टर खसेको छ । त्यहाँ शव छरपस्ट अवस्थामा रहेको र उद्धार टोलीले उद्धार कार्य सुरु गरेको जनाइएको छ । एजेन्सी