Tue. Nov 19th, 2024

युक्रेनका धेरै शहरहरुमा क्षेप्यास्त्र प्रहार

युक्रेन, २०७९ असोज २४ गते सोमबार । राजधानी किभसहित कैयौ युक्रेनी शहरहरुमा सोमबार भएका क्षेप्यास्त्र हमलामा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका छन् । रुसले किभमा ठूला हमलाहरु गरेको र अधिकांश क्षेप्यास्त्र राजधानीको केन्द्रमा परेका जनाइएको छ । पाँच जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका राष्ट्रिय प्रहरी सेवाले फेसबुकमार्फत एक विज्ञप्तिमा जानकारी दिएको छ । मस्कोले जोड्ने पुलमा विस्फोटको लागि युक्रेनलाई दोष लगाएको एक दिनपछि यसप्रकार क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ ।

देशका धेरै शहरहरूमा क्षेप्यास्त्र आक्रमणको चपेटामा रहेका र जनतालाई आश्रयमा बस्न युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले सामाजिक सञ्जालमा आह्वान गर्नु भएको छ । किभमा रहेका एएफपी संवाददाताहरूले स्थानीय समयानुसार सोमबार बिहान ८ः१५ बजे ठूलो विस्फोटहरु भएको बताएका छन् ।

एक क्षेप्यास्त्र बालबालिकाको खेल मैदाननजिकै अवतरण भएको एएफपीका पत्रकारले जानकारी दिएका छन् । त्यो स्थानमा रहेको ठूलो खाडलबाट धूवाँ निस्किरहेको जनाइएको छ । युक्रेनको राजधानीमा रुसी आक्रमण जारी रहेको र सहरको केन्द्रहरुमा क्षेप्यास्त्र प्रहार भएका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा भन्नुभएको छ । एजेन्सी

Facebook Comments