वर्षाका कारण यसबर्षको दसैं खल्लो
तनहुँ, २०७९ असोज २१ गते शुक्रबार । गत मङ्गलबार साँझदेखि परेको अबिरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडादसैँको रौनकता बढाउन सकेन । चाडपर्वको समयमा आफन्त,इष्टमित्र,मान्यजनको हातको टीका थाप्न र आर्शिबाद लिन बर्षाका कारण कठिनाई भएको व्यास-१० निवासी तुलबहादुर सुनार बताउनुहुन्छ ।
अबिरल वर्षाकै कारण ससुराली घर चितवनमा जान समेत रोकिनुपरेको उहाँको दुखेसो छ । जाउँ जाउँ त लागेको छ, लामो दूरीको सडक त्यसमा पनि ठाउँ ठाउँमा पहिरो खस्ने चिन्ताले जाने चाहना हुँदाहुँदै पनि नसकिएको सुनार बताउनुहुन्छ ।
कोरोनाका कारण तीन बर्ष खुलेआम चाडपर्व मनाउन नपाएका नेपालीहरुले यसबर्ष दसैं हर्षोल्लास र उमङ्गका साथ मनाउने सपना देखेपनि त्यो पूरा हुने नहुने अवस्था सिर्जना भएको हो ।
वर्षा जारी रहेका कारण मौसमले समेत साथ नदिँदा पीङ खेल्न, रमाइला स्थानमा घुम्न जान नपाइएको व्यास-२ निवासी एवं संचारकर्मी विकास खनाल बताउनुहुन्छ ।
दसैंको दिन टीका,जमराका साथै नयाँ नयाँ कपडा लगाएर मान्यजनहरुको हातबाट टीका थाप्न जान बर्षाका कारण समस्या भएको उहाँको भनाइ छ ।
अबिरल वर्षाका कारण दसैँमा पीङ्ग खेलेर रमाइलो गर्ने र साथीभाईसँग भेटघाट गरी प्रत्यक्ष कुराकानी गर्ने अबसरबाट गर्न बञ्चित हुनुपरेको व्यास नगरपालिका-१ निवासी जानुका नेपालीको पनि गुनासो छ ।
उहाँ भन्नुहुन्छ, अघिल्ला बर्षको चाडपर्व कोरोना सङ्क्रमणका कारण बाहिर खुलेर रमाउन नपाइएकामा यसबर्ष पनि मौसमले साथ नदिँदा खल्लो भयो ।