Sun. Apr 28th, 2024

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाण्डौं, २०७९ असोज ११ गते मंगलबार । बडादशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरूमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । विहानैदेखि शक्तिपीठहरुमा श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरूको घुइँचो लागेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको बडादशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो ।

यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ । शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभ कार्यमा गरिने कन्या पूजाका लागि दुई वर्षसम्मका बालिकाहरू योग्य रहेको मानिन्छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

काठमाडौं उपत्यकाका दक्षिणकाली, कालिकास्थान, गुह्येश्वरी, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरूको विहानैदेखि भीड लागेको छ ।

यसैगरी काठमाडौं उपत्यका बाहिर धरानको दन्तकाली, दाङको अम्बिकेश्वरी, सप्तरीको छिन्नमस्ता, भोजपुर र संखुवासभाको सिद्धकाली, पोखराको विन्ध्यवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको मनकामना लगायतका मन्दिरहरुमा पनि पूजा गर्नेहरूको भीड लाग्ने गर्दछ ।

Facebook Comments