Mon. Nov 18th, 2024

फुटले धोका भयो : अध्यक्ष दाहाल   

फाइल फोटो

काठमाण्डौं, २०७९ असोज ९ गते आईतबार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले डा. बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरु मिल्नै पर्ने निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “ भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौँ । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल ग-यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौँ ।”

माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको दोहो-याउँदै अध्यक्ष दाहालले भन्नुभयो, “यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि सफल हुन सकेन ।” घटनाक्रमले के साबित ग-यो भने हामी अलग-अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उहाँले उल्लेख गर्नुभयो ।

रासस का अनुसार जनविरोधी शक्तिले माओवादी आन्दोलनका नेता-कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धि उल्ट्याउन अनेक खालाका कसरत गर्ने बीचमा देखापरेको उहाँको भनाइ छ । पछिल्ला दिनमा देखिएका घटनाको समीक्षा गर्न आवश्यक देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धि नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पार्नुभयो ।

“यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व ग-यो उनीहरू अलग-अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस ग-यौँ,” अध्यक्ष दाहालले भन्नुभयो, “प्रचण्ड-बाबुराम दुई नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठूलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तीतो मार्मिक यथार्थ भोगिरहेका छौँ ।”

“बाबुराम-प्रचण्ड मिल्दा एक प्लस एक दुई मात्र हुने होइन, यसको महत्व ठूलो हुन्छ”, उहाँले भन्नुभयो, “हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।” संविधानको घोषणापछि आफूले एमालेसँग एकता र भट्टराईले नयाँ शक्तिको स्थापना गर्ने दुस्साहसिक प्रयोग गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले ती दुवै प्रयोग असफल भएको स्वीकार गर्नुभयो । उहाँले भट्टराई र आफू केही महिनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निष्कर्ष फुट होइन एकता नै भएको र एकता सङ्घर्ष रुपान्तरणमा पनि मुख्यतः रुपान्तरण नै रहेको बताउनुभयो ।

नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर आफूहरुले छलफल गरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले एकता चुनावका लागि मात्रै नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ यो निर्णय चुनावका लागि मात्र गरिएको होइन, त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौँ ।”

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने सङ्कल्पका साथ आफूहरु अगाडि बढेको बताउनुभयो ।

Facebook Comments