खोलाले बगाएका शिक्षकको २२ घण्टापछि उद्धार
सिन्धुपाल्चोक, काठमाण्डौं, २०७९ असोज २ गते आईतबार । नुहाउन जाने क्रममा लडेर हेलम्बु-१ छ्यादी खोलाले बगाएका शिक्षकको उद्धार गरिएको छ । दोलखा कालीञ्चोक–३ घर भएका शिक्षक केशव सिवाकोटीको नेपाली सेनाले हेलिकप्टरमार्फत आज २२ घण्टापछि उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयो ।
उहाँलाई छ्यादी खोलाको अप्ठ्यारो भूगोलमा ढुङ्गाको कापबाट उद्धार गरिएको हो । हेलम्बु गाउँपालिकाको सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक सिवाकोटी हिजो नुहाउन जाँदा खोलामा लडेर बेपत्ता हुनुभएको थियो । आज बिहान सकुशल रहेको जानकारी पाएपछि सेनाले उहाँलाई हेलम्बु-१ ठाडो खोला भिरमा अड्केको अवस्थामा उद्धार गरेको हो उहाँलाई उपचारका लागि काठमाडौँको केएमसी अस्पताल लगिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । खुट्टामा सामान्य चोटपटक लागेको उहाँको अवस्था सामान्य रहेको शेर्पाले जानकारी दिनुभयो । उहाँको उद्धारमा सेना, प्रहरी, स्थानीय लागेका थिए । रासस