एनएसएल आयोजना गर्न एन्फा सहमत, असोज २३ गतेदेखि सुरु हुने
भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २६ गते बिहीबार । अखिल नेपाल फुटबल संघ (एन्फा) को आज जारी दोस्रो कार्यसमिति बैठकले आगामी असोज २३ गतेदेखि मंसिर २ गतेसम्म फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ ।
विगतमा भएका कमी कमजोरीहरुलाई सच्चाउँदै र त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय गरिएपछि एनएसएलको दोस्रो संस्करण आयोजना गर्ने बाटो खुलेको एनफा स्रोतले जानकारी दिएको छ ।
जारी बैठकले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा कमिटि गठन गरिएकोे छ । कमिटिको सदस्यमा एन्फा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी र सदस्य टिका लामा, मनिराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा रहनु भएको छ ।
पहिलो सिजन ७ टिमलाई समावेश गरेर खेलाईएको एनएसएलको दोस्रो संस्करणमा झापा, विरगंज र इलाम नयाँ तीन क्लबहरु थपिएका हुन् । नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले नेपालको पहिलो फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) का नयाँ तीन टिमहरु थप गर्न अक्शन गरेको थियो । एनएसएलको पहिलो सिजनमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी समावेश थिए ।
पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । अधिल्लो संस्करणका सबै खेलहरु दशरथ रंगशालामा आयोजना भएका थिए । दोस्रो संस्करणको प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुने प्रतियोगिता स्थगित हुनु पुर्व निर्णय गरिएको थियो ।