Sat. Nov 16th, 2024

‘एसपिपीमा आबद्ध हुन सकिँदैन’ : प्रधानसेनापति शर्मा

- संसदीय समितिमा प्रधानसेनापतिको जवाफ

काठमाण्डौं, २०७९ असार ३ गते शुक्रबार । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट गर्नुभएको छ । उहाँले सुरुमा नेपाली सेनाले गोरखा भूकम्पका बेला विपद्मा मानवीय र गैरसैनिक सहयोगका लागि सरकारको स्वीकृतिमा पत्राचार गरेको र सहयोग पनि लिएको तर पछि सन् २०१९ पछि एसपिपी ‘इण्डो प्यासिफिक रणनीति’को अङ्ग हुने भनिएपछि यसमाथि पुनर्विचार गर्न नेपाल सरकारलाई पत्राचार गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले केही दिनअघि नेपाल भ्रमणमा आउनुभएका अमेरिकी सैनिकका एशिया प्यासिफिक प्रमुखसँगको भेटमा पनि आफूहरु एसपिपीमा आबद्ध हुन नसक्ने स्पष्ट कुरा राखेको जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जाल र केही मिडियामा देखिएको नेपालले सम्झौता गर्न लागेको भनी सार्वजनिक एसपिपीको १० बँुदे पत्र पूरै गलत भएको बताउनुभयो । सो अवसरमा प्रधानसेनापति शर्माले भोलि असार ४ गतेदेखि आफूले गर्न लागेको लेबनान, सिरिया र अमेरिकाको भ्रमणका सम्बन्धमा समितिलाई जानकारी गराउनुभएको थियो ।

साथै उहाँले भ्रमणका क्रममा आफ्ना तर्फबाट कुनै सम्झौता नहुनेसमेत स्पष्ट पार्नुभयो । उहाँले नेपाली सेना मुलुकको परराष्ट्र नीति र जनहितका आधारमा मात्र सञ्चालन हुने पनि सो समितिमा स्पष्ट गर्नुभयो ।

Facebook Comments