विश्व बजारमा नेपाली ८४ व्यञ्जनको प्रबर्द्धन आवश्यक
काठमाण्डौं, २०७९ जेठ २७ गते शुक्रबार । विश्व बजारमा नेपाली मौलिक परिकार ८४ व्यञ्जनको प्रबर्द्धन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । राजधानीमा बिहीबार आयोजित नेपाली ८४ व्यञ्जन प्रदर्शन कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सो विचार व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै होटल एशोसिएशन अफ नेपाल हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपाली मौलिक परिकार ८४ व्यञ्जनलाई पर्यटनसँग जोड्न नसकेको बताउनुहुँदै खाना खानकै लागि पनि विदेशी पर्यटकहरुलाई नेपाल आउने वातावरण सृजना गर्न लाग्नु पर्नेमा जोड दिनुभयो ।
विश्वका विभिन्न ९० वटा देशमा नेपालीहरु बसोवास गरिरहेका र ती देशहरुमा नेपाली खानाको प्रवद्र्धन निजि क्षेत्रले गरेको भए पनि सरकारी निकायबाटै नेपाली खानाको प्रबर्द्धनमा ध्यान दिनु पर्ने शाहको भनाई छ । विश्वका विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले मनाउने राष्ट्रिय दिवसहरुमा आयोजना गरिने भोजहरुमा नेपाली खानाले प्रश्रय पाउनुपर्ने शाहको माग छ । साथै शाहले राष्ट्रिय ध्वजावहक नेपाल वायुसेवा निगमले पनि यात्रुहरुलाई कुनै न कुनै नेपाली खाना वितरण गर्ने व्यवस्था गरे नेपाली मौलिक खानाको प्रबर्द्धनमा वल पुग्ने बताउनु भयो ।
सेन्चुरी ग्रुपका प्रबन्ध निर्देशक आदित्य दुगढले कुनै पनि खानाले देशको संस्कृति र सभ्यता देखाउने भएकोले नेपाली खानाको विश्वव्यापी प्रवद्र्धन आवश्यक रहेको बताउनु भयो । नेपाली सेफहरुको योगदानकै कारण नेपाली मौलिक परिकारहरु विश्वबजारमा पुगिरहेको भए पनि त्यो प्रर्याप्त नहरेको गुनासो गर्नुभयो । विदेशी खानाहरुको नेपालमा प्रचार प्रसार भैरहेको सन्दर्भमा विश्व बजारमा नेपाली खाना जिम्वु, गुन्द्रुक लगायतको प्रबर्द्धन गर्न आवश्यक रहेको दुगढले बताउनु भयो ।
सिक्किम विश्व विद्यालय भारतका माईक्रोवायोलोजी विभागका प्रोफेसर डाक्टर ज्योती प्रकाश तामाङले खानामा विभिन्न प्रकारका औषधिय गुण समेत रहेको बताउनु हुँदै ढिलो पाक्ने खाना (Slow food) स्वास्थ्यका हिसावले छिटो पाक्ने खाना (Fast Food) भन्दा लाभदायक हुने बताउनु भयो । कोरोना लगायतका महामारी र मौसम परिवर्तन जस्ता कुराहरुबाट जोगिन पनि स्वस्थ खानाको आवश्यक रहने भएकोले मौलिक खानाको संरक्षण र सम्वद्र्धनमा लाग्नु पर्ने डाक्टर तामाङले बताउनु भयो । नेपाली ८४ व्यञ्जनमा देशको मौलिकता र विभिन्न जातीय खानासमेत मिसिएको हुनाले यस्ता खानाहरुको व्यापक प्रचार प्रसार गर्नुपर्नेमा तामाङले जोड दिनुभयो ।
विद्यालय तथा विश्व विद्यालयतहका पाठ्यक्रमहरुमा समेत मौलिक खानाको विषय समावेश गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले नेपाल सरकारले नेपाल वायुसेवा निगममा नेपाली खाना वितरण गर्ने व्यवस्था मिलाउन सके नेपाली खानाको प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रम आयोजक संस्था नेपाली ८४ व्यञ्जन प्रा.लि.का अध्यक्ष सेफ प्रेमलाल घिसिङले ८४ व्यञ्जनको विश्वव्यापी प्रबर्द्धनमार्फत नेपालको पर्यटनक्षेत्रको विकासमा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
उपराष्ट्रपति नन्द बहादुर पुनले एक भव्य समारोहकाबीच नेपाली मौलिक परिकार ८४ व्यञ्जन प्रबर्द्धनात्मक कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।