अमेरिकी उच्च प्रतिनिधि मण्डलले चार देशको भ्रमण गर्ने
वासिङ्टन, २०७९ जेठ २१ गते शनिबार । अमेरिकी उच्च प्रतिनिधि मण्डलले चार देशको भ्रमण गर्ने भएको छ ।
अमेरिकाका उपविदेश मन्त्री वेण्डी शेर्मन नेतृत्वको अमेरिकी टोलीले दक्षिण कोरिया, फिलिपिन्स, लाओस र भियतनामको भ्रमण गर्ने भएको हो ।
विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार सो उच्चस्तरीय टोलीले यही जुन ५ देखि १४ सम्म चार देशको भ्रमण गर्ने जनाएको छ ।
भ्रमणका क्रममा अमेरिकी टोलीले सम्बन्धित देशका उच्च अधिकारीहरूसँग ‘इन्डो– सिफिक इकोनोमिक फ्रेमवर्क’, दुई पक्षीय हित, साझा सरोकार र चासोलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
टोलीले अमेरिकी राष्ट्रपतिसँग ती देशका शीर्ष नेताहरूसँग विगतमा विभिन्न सम्मेलन तथा कार्यक्रममा भएका भेटवार्ता र त्यसक्रममा भएका सहमतिबारेमा पनि छलफल गर्ने विदेश मन्त्रालयले जनाएको छ ।
विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने वा गराउनेतर्फ पनि भ्रमण टोली केन्द्रित रहने अधिकारीहरूले जनाएका छन् । रासस/एएनआई