जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई
काठमाण्डौ, २०७९ जेठ २ गते सोमबार । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम यही जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गतेभित्र सम्पूर्णको सार्वजनिक गर्न निर्देशन दिएको बताउनुभयो । मतगणनास्थलमा अध्याधिक जनशक्ति परिचालन गर्ने, सुरक्षा व्यवस्था मिलाउने र त्यसको लागि आवश्यक पर्ने व्यवस्था र वित्तीय खर्च मागअनुसार आयोगले व्यवस्था गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
रेडियो नेपालका अनुसार थपलियाले मतगणनास्थलमा निजामती कर्मचारी, प्रदेश सरकार वा स्थानीय निकायका कर्मचारीलाई परिचालन गरी यथासक्य धेरै टोली बनाइ मतगणनाकार्यमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगले ७७ जिल्लामा शान्तिपूर्ण, स्वतन्त्र र निश्पक्षरुपमा सम्पन्न भएको निर्वाचनको घोषणा नागरिकलाई जानकारी दिन सम्पूर्णरुपमा काम गरिरहेको बताउनुभयो । मतगणनास्थलमा दलका प्रतिनिधि र गणकबीच मतपत्रका सम्बन्धमा साना, मसिना त्रुटि समाधानमा आयोगले सहजीकरणको भूमिका खेल्नेसमेत उहाँले उल्लेख गर्नुभयो ।