Fri. Sep 20th, 2024

काठमाडाैंकाे मेयर र उपमेयरमा एमालेकाे उम्मेदवारी दर्ता

काठमाण्डौ, २०७९ बैशाख १२ गते सोमबार । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसैबीच नेकपा (एमाले)बाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता गराउनुभएको छ ।

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उमेद्वारी मनोनयन दर्ताको दोस्रो दिन आज सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराउनुभएको हो । स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुनुहुन्छ भने डंगोल पूर्व मिस नेवा हुनुहुन्छ ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनुभएको थियो । यस्तै, कलाकार मदनदास श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाउने निर्णय गरेको थियो ।

वरिष्ठ कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रूपमा रहेको काठमाडौं नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिकहरूका लागि सबै वडाहरूमा ज्येष्ठ नागरिक बाटिका, बालबालिकाहरूलाई खेल्नका लागि उपयुक्त हुने खालका बाल बाटिका र युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो पार्टीले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको मान्यता लिएको र त्यसलाई आफूले शिरोधार्य गर्दै महानगरपालिकालाई भ्रष्टाचार मुक्त गराउन पनि आफू विजयी भएमा लागिपर्ने उहाँको संकल्प छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ । रे न्यूज डेली

Facebook Comments