Sun. Nov 24th, 2024

निर्वाचन आयोगद्वारा आचार संहिताको पालना गरी मनोनयन पत्र दर्ता गराउन आग्रह

काठमाण्डौ, २०७९ बैशाख १० गते शनिबार । स्थानिय निर्वाचनको तयारी तिब्रगतिमा अघि बढेसंगै निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पालना गरी मनोनयन पत्र दर्ता गराउन आग्रह गरेको छ ।

आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भोलि वा पर्सिमध्ये आफूलाई अनुकूल पर्ने दिन र समयमा निर्वाचन अधिकृतको कार्यालयमा गई पत्र दर्ता गर्न आग्रह गरेको गरेको हो ।

आयोगले मनोनयन पत्र दर्ताका लागि बिहान १० बजे देखि बेलुका ५ बजे सम्मको समय निर्धारण गरेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलका तर्फबाट मनोनयन पत्र दर्ता गराउँदा समावेशी सिद्धान्तलाई ख्याल गरी उम्मेदवार तय गर्न समेत आग्रह गर्नुभयो ।

निर्वाचन आयोगले भोलि र पर्सि अर्थात् वैशाख ११ र १२ गते मनोनयन पत्र दर्ता गर्ने, वैशाख १३ उम्मेदवार विरुद्ध उजुरी दिने, १४ र १५ गते उजुरीमाथि छानबिन गर्ने र वैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

आयोगले वैशाख १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments