Fri. Sep 20th, 2024

नयाँ वर्ष विक्रम सम्वत २०७९ सालको हार्दिक मंगलमय शुभकामना

काठमाण्डौं, २०७९ बैशाख १ गते बिहीबार ।  नयाँ वर्ष विक्रम सम्वत २०७९ सालको पावन अवसरमा भ्वाईस अफ काठमाडौं मिडिया प्रा.लि.परिवार स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

आज विक्रम सम्वत २०७९ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन । यस पावन अवसरमा स्वदेश तथा विश्वका विभिन्न देशहरुमा बसोबास गर्ने नेपालीहरुमाझ शुभकामना आदान प्रदान गरि नयाँ वर्ष मनाईदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति अर्थात वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत शास्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राध्यापक डा. माधव भट्टराई बताउनु हुन्छ ।

सूर्य मेष राशीमा प्रवेश गर्दा सुरु भएर मीन राशी छोड्दा विक्रम सम्वतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकोले वैज्ञानिक रहेको विद्वानहरुको भनाई छ । सौरमान र चन्द्रमानको समन्वय पनि यो सम्वतमा भएको छ । कलियुग सुरु भएको तीन हजार चौवालिस वर्षपछि विक्रम सम्वत सुरु भएको मानिन्छ ।

नयाँ वर्षको पहिलो दिन आज हरेक मानिसले गत वर्ष गरेका काम र योजना तथा तिनीहरुबाट प्राप्त गरेको सफलता वा असफलताको लेखाजोखा गरी असफलता र निराशा दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गर्दछन् । आज विहान सबेरै उठेर स्नान गरी, घर, आँगन, चोक र सडक सफा गर्ने, राम्रा पोशाकहरु लगाउने, देव-देवीको दर्शन गर्ने, मीठामीठा परिकार खाने र साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकअर्कामा शुभकामना व्यक्त गर्ने प्रचलन रहेको छ । विश्वका हरेक ठाउँमा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

सिंगो विश्व समुदाय गत वर्ष जस्तै यस वर्ष पनि कोरोना सङ्क्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरूलाई पनि छोएको छ । संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई सङ्क्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ । त्यसैले पनि विश्वव्यापी रुपमा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसको दोश्रो लहरको जोखिमबाट आफू, परिवार र समाज अनि देशलाई जोगाउन यो समयमा घरमै बसेर प्रविधिको प्रयोग गर्दै शुभकामना आदान प्रदान गर्नु सान्दर्भिक देखिन्छ ।

अन्तमा पुनःएकपटक नयाँ वर्षको यस पवित्र घडिमा हामी नेपालीहरुको हृदयमा सुख, शान्ति र शरीरमा कान्ती छाओस् । हाम्रा प्रत्येक घरआँगनमा समृद्धि र आरोग्यताको वास होस् । हिमाल, पहाड, तराई-मधेसमा बसोबास गर्ने हामी नेपाल आमाका सन्तानहरुबीच रहेको आपसी सहयोग, सद्भाव, विश्वास र सम्मानको भावना हामीबाट कहिल्यै नटाढियोस् । प्रकृतिलाई आमा सरह सम्मान गर्ने हाम्रो सभ्यता अनन्त भविष्यसम्म चिरायु रहोस्, प्रकृतिको अनुकम कृपा हामीमा रहिरहोस् । मातृभूमि नेपालको शान, मान् र साख बोकेर चन्द्र र सूर्य अंकित गौरवशाली झण्डा विश्व रंगमञ्चमा फरफराई रहोस् ।

नयाँ वर्ष २०७९ सालको  सबैमा हार्दिक मंगलमय शुभकामना ।।

Facebook Comments