बोरोदियाङ्काको क्षति बुचा भन्दा निकै धेरै भयानक रहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दाबी
काठमाण्डौं, २०७८ चैत २५ गते शुक्रबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा निकै धेरै भयानक रहेको बताउनु भएको छ ।
उहाँले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिनुभयो। बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उहाँले भन्नुभयो, “रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस यहाँ छन्।”
युक्रेनकी मुख्य अभियोजनकर्ताका अनुसार बोरोदियाङ्कामा ध्वस्त भएको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै इरीना भेनेडिक्टोभाले मस्कोमाथि जानाजान सर्वसाधारणहरू बसोबास गर्ने क्षेत्रलाई निसाना बनाएको आरोप लगाउनु भयो।
उहाँका अनुसार आक्रमण भएको क्षेत्रमा सैन्य पूर्वाधार छैन। ”(रुसी सेनाले) साँझको बेला आवासीय भवनहरूमा आक्रमण गरेका थिए जति बेला तुलनात्मक रूपमा धेरै मानिस घरमा हुन्छन्,” भेनेडिक्टोभाले भन्नुभयो । बीबीसी