Fri. Nov 15th, 2024

नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचन भोली, दुवैपक्षबीचकडा प्रतिस्पर्धा हुने

काठमाण्डौं, २०७८ चैत १८ गते शुक्रबार । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन भोली हुँदैछ । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील तथा पेशागत कानून व्यवसायीहरुको समूह र प्रगतिशील तथा पेशागत कानून व्यवसायी समुहबीच कडा प्रतिस्पर्धा हुनेभएको छ ।

यस निर्वाचनमा सत्ता साझेदार दलहरूको गठबन्धन पक्षधर कानून व्यवसायी र प्रमुख प्रतिपक्ष दल सम्बद्ध कानून व्यवसायीबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

यस पटकको निर्वाचनमा गठबन्धन पक्षधरको नेतृत्व वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले गर्नुभएको छ । उक्त समूहको नाम ‘वृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानून व्यवसायी समूह’ रहेको छ, भने प्रमुख प्रतिपक्षी दल पक्षधर कानून व्यवसायीको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गर्नुभएको छ । उक्त समूहको नाम ‘प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूह’ रहेको छ ।

यस निर्वाचनका लागि दुवै समूहले मेचीमहाकाली अभियान सम्पन्न गरिसकेका छन् । त्यसैगरी दुवै समूहले उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम पनि भव्य रुपमा काठमाडौंमा गरेका छन् ।

प्रगतिशील तथा पेसागत कानून व्यवसायी समूहको नेतृत्व गर्नुभएका वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी आफ्नो समूहले सफलता हात पार्ने दाबी गर्नुहुन्छ । उहाँले चुनावका क्रममा मेची महाकाली भ्रमण गरेको र आफ्नो समूहमा बढी पेसागत पृष्ठभूमिका साथी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समावेशी समूह छ, समग्र न्यायालय सुधारको योजना भएकाले मेरो नेतृत्वको समूहले जित्ने निश्चित छ ।”

नव प्रवेशी कानून व्यवसायीहरुले भोग्नु परेका समस्याहरुलाई सम्बोधन गर्ने अधिकारीले बताउनु भएको छ । साथै अधिकारीले नयाँ प्रवेशी कानून व्यवसायीलाई प्रभावकारी रुपमा तालिम दिने योजना रहेको पनि बताउनुभयो । अधिकारीले भन्नुभयो, राजनीतिक हस्तक्षेपबाट बारमुक्त हुनुपर्छ, प्रत्येक कानून व्यवसायीले न्यायका लागि अदालत जान नसक्नेलाई निःशुल्क कानूनी सेवा दिनुपर्छ ।

अर्कोतिर वरिष्ठ अधिवक्ता घिमिरेले नेतृत्व गर्नुभएको बृहत लोकतान्त्रिक, प्रगतिशील तथा पेशागत कानून व्यवसायीहरुको समूह निर्वाचन आफुहरुले जित्नेमा विश्वस्त छ । अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता घिमिरे भन्नुहुन्छ, “विकृति, विसङ्गतिमुक्त न्यायालय बनाउन हामी लामो समयदेखि लडिरहेका छौं । घिमिरेले भन्नुभयो, “न्यायपालिकाको शुद्धीकरण गर्ने काममा यो समूह लाग्नेछ ।” उहाँका अनुसार नयाँ प्रवेशीलाई मर्यादित रुपमा पेसामा ल्याउन सहयोग गर्ने चुनावी घोषणापत्रमा छ । “हाम्रो समूह हरेक हिसाबले अब्बल छ, कानून व्यवसायी पेसागत सुधारका लागि काम गर्नेछौँ”-वरिष्ठ अधिवक्ता घिमिरेले भन्नुभयो,“हाम्रो समूहले निर्वाचन जित्नेका ढुक्क छु ।”

नेपाल बार एशोसिएशनको निर्वाचन तीनरतीन वर्षमा हुने गरेको छ । नयाँ कार्यसमितिका लागि हुने यस पटकको निर्वाचनमा दशभरी ९ हजार ६ सय ७ जना मतदाता रहेका छन् । जसमध्ये काठमाण्डौं उपत्यका भित्र ५ हजार ८ सय जना रहेका छन् भने उपत्यका बाहिर ३ हजार ८ सय ७ जना रहेका छन् ।

Facebook Comments